थाहा नगरपालिकाको तेस्रो स्थापना दिवस मनाइयो

नगर सूचना केन्द्र उद्घाटन

मकवानपुर थाहा नगरपालिकाको तेस्रो स्थापना दिवस मनाइएको छ । नगरपालिका कार्यालयमा एक समारोहकाबीच २५ वैशाखमा केक काटेर स्थापना दिवस उद्घाटन गरिएको हो । थाहा नगरपालिका वि.संं २०७१ वैशाख २५ गते स्थापना भएको हो । स्थापना दिवसको अवसरमा नगर स्तरीय राजनीतिक दल, नगरका विषयगत समितिका पदाअधिकारीहरु, संघसंस्था प्रमुख, समाजसेवी, पत्रकार लगायतका नगरवासीहरुको उपस्थिती रहेको थियो ।

थाहा नगरपालिकाले नगरपालिकाको तेस्रो वार्षिकोत्सवको अवसरमा नगर सूचना केन्द्र संचालनमा ल्याएको छ । नगर सूचना केन्द्रको नगरस्तरीय राजनीतिक दलका प्रमुखहरुले सामुहिक रुपमा उद्घाटन गरेको छ । नगरपालिकाको स्थापना दिवस तथा नगर सूचना केन्द्र उद्घाटनको अवसरमा नगरमा भएका विकास निर्माण, साममजिक सुरक्षालगायत विभिन्न गतिविधिका सवालमा बृहत छलफल तथा अन्र्तक्रिया भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका थाहानगर अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, नेकपा एमालेका चित्रबहादुर बलामी, एनेकपा माओवादीका थाहानगर सचिव बिनोद कुमार लामा, राप्रपा नेपालका हरेराम कार्की, नयाँ शक्ति क्षेत्रिय अभियान्ता ईन्द्रबहादुर श्रेष्ठ, ज्योती रायमाझी, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले नगरका सवालहरुमा समिक्षा गर्दै शुभकामना मन्तव्य राखेका थिए । 
थाहा नगरपालिकाले स्थापना गरेको सूचना केन्द्रमा सूचना मूलक पुस्तकालय, इ–लाइब्रेरी तथा निःशूल्क इन्टरनेटको सुविधा उपलब्ध गराइने प्राविधिक सुकदेव विडारी जानकारी दिए ।  थाहा नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत सन्तोष बोहराको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन नगरपालिकाका प्रशासन प्रमुख अनिल लामिछानेले गरेका थिए । 




All news in One Place