थाहा दिवस शुरु :: पौष २६ गते थाहा दिवस

थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको स्मृतिमा यसवर्षबाट भव्यताका साथ थाहा दिवस मनाउन शुरु गरिएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको समूह फरकसोच टिमले दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाउन थालिएको हो । थाहा दिवस अन्तर्गत शुक्रबार मकवानपुर उत्तरी क्षेत्र स्तरीय थाहा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झम्केश्वरी मावि प्रथम भएको छ । त्यसैगरी प्रतियोगितामा जनकल्याण उच्च मावि द्वितीय भएको छ भने, सुन्दरीदेवी मावि आग्रा डाँडाबास तृतीय भएको छ । 

फरकसोच अभियान्ता तथा सेती गणेश निमाविकी प्रधानाध्यापक उर्मिला गोपालीको सभाध्यक्षतामा सम्पन्न प्रतियोगितामा फरकसोचका रामकुमार कार्की, अनित विष्ट, सुरजकुमार भुजे्ल लगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुको पनि सहभागिता रहेको थियो । 

यसैबीच थाहा दिवस अन्तर्गत शनिबार उत्तरी मकवानपुर स्तरीय थाहा दर्शन विषयक अन्तर मावि निबन्ध लेखन प्रतियोगिता, आइतबार विहान ३ किलोमिटर महिला र ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगिता संचालन हुने फरकसोचका यादवजंग रायमाझीले जानकारी दिए । रुपचन्द्र विष्टको ८३ औं जन्म दिन पौष २६ गते थाहा दिवसका अवसरमा तिर्थदास श्रेष्ठ स्मृति सम्मान तथा प्रवितयोगिताका विजेताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यस अन्तर्गत थाहा नगरमा जन्मभई पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने एकजना पत्रकार र मकवानपुर उत्तरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयतर्फ २०७१ सालको एसएलसीमा सबैभन्दा बढि प्रतिशत नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरिने कार्यक्रम रहेको थाहा दिवस मूल कार्यक्रम संयोजक सुरजकुमार भुजेलले जानकारी दिए ।

थाहा दिवसलाई अभियानकै रुपमा आगामि वर्षबाट फरकसोच टिमले साप्ताहिक कार्यक्रम सहित आयोजना गर्ने फरकसोचले जनाएको छ ।



All news in One Place