चेपाङलाई खाद्यन्न सहयोग
खाद्यान्न अभावमा जंगली कन्दमूल खाएर पेट भर्दै आएका मकवानपुरको नामटार गाविस–४ का एक चेपाङ परिवारलाई खाद्यान्न सहयोग जुटेको छ । आङ ढाक्न र ओढन लत्ताकपडा पनि परिवारले सहयोग पाएको छ । काठमाडौं महानगरपालिका–१५ का वासुनाथ ढकाल र किशोरचन्द्र ढकाल, पोखरा उपमहानगरपालिका–४, चिप्लेढुंगा मानवअधिकार चोकका विष्णुप्रसाद पराजुलीले २० हजार मूल्यबराबरका खाद्य वस्तु भूकम्पपीडित वुद्धिबहादुर चेपाङको परिवारलाई सहयोग गरेका छन् ।
माइती नेपाल हेटौंडाले चेपाङ परिवारलाई कम्बल, म्याट, जाडोमा बाक्लो लुगा सहयोग गरेको हो । हृदयीहरुले सहयोग गरेको चामल, तेल, चिउरा, आलु, दाल, चिनी, चियापत्ती र लताकपडा सोमवार गाउूमा पुगेर बृद्धको परिवारलाई हस्तान्तरण गरेको हो । माइती नेपाल मकवानपुर प्रमुख माया लामा, स्थानीय सामाजिक कार्यकर्ता विमला सिन्तान, सहयोगी किशोरचन्द्र ढकाल लगायतले सामान हस्तान्तरण गरेका थिए ।
खाद्यान्न अभावले चार दिनदेखि चेपाङ परिवारको पेटमा खाद्यान्न परेको थिएन । जंगली कन्दमूल खाएर पेट भर्दै आएका थिए उनीहरु । पीडित चेपाङको विजोग भएको समाचार प्रकाशन भएपछि काठमाडौं र पोखराका सहृदयीहरुले खाद्यान्न उपलब्ध गराएका हुन् । हेटांैडास्थित माइती नेपालले लताकपडा सहयोग गरेको हो । भूकम्पले भत्केको घरमा जोखिम मोलेर बस्दै आएका चेपाङको ५ जनाको परिवारमा खाने अन्न थिएन । भत्केको घरको एक कुनामा उसिनेर खान गिा थुपारेर राखिएको थियो । खाद्यान्न सहयोग पाएपछि चेपाङ परिवार हर्षित भएको छ । जाडोमा कपडा नभएर अगेनावरिपरि सुतेर रात बिताउँदै आएका दुर्गम गाउँका चेपाङलाई माइती नेपाल हेटौंडाले न्यानो कपडा उपलब्ध गराएको छ ।
नामटार गाविस–९ स्थित गोपीराङका ३६ घर परिवारलाई माइती नेपाल हेटौंडाले कम्बल, म्याट, स्वीटरलगायत लुगा उपलब्ध गराएको छ । त्रिभुवन राजपथबाट करिब २ घण्टा पैदल पुगिने उक्त वस्तीका चेपाङ परिवार न्यानो लुगा अभावले आगो बालेर अगेना वरिपरि सुत्ने गर्छन् । आमा थीरकुमारी प्रतिष्ठान काठमाडौंले नामटार गाविस–४, घडेरीका ४० घर चेपाङ परिवारलाई कम्बललगायत न्यानो लुगा सहयोग गरेको छ ।