अन्तर्राष्ट्रिय फुटबललाई दुईलाख सहयोग

फागुन १ गतेदेखि ८ गतेसम्म हेटौंडामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७२ का लागि नेपाली काँग्रेस मकवानपुरका युवा नेता सुनिलकुमार दाहालले सोमबार दुईलाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् ।
तरुण दल मकवानपुर अध्यक्ष तथा बसामाडी जेसीज अध्यक्ष सुनिलकुमार दाहालले तरुण दल मकवानपुर, बसामाडी जेसीज युवाहरुको तर्फबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रतियोगिता आयोजक सुमन भोम्जन स्मृति खेलकुद  प्रतिष्ठान अध्यक्ष भेष खड्कीलाई चेक हस्तान्तरण गरेका थिए । ‘युवाले आँटे सबै काम कुशलतापूर्वक सम्पन्न हुन्छ । हेटौंडामा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता हाम्रो इज्जत हो । हामी सबै तरुण, जेसीजका युवाहरुको तर्फबाट सहयोग उपलब्ध गराएका हौं,’ रकम हस्तान्तरण गर्दै दाहालले आगामी दिनमा पनि आवश्यक सहयोगका लागि आफूहरुको तयार रहेको बताए ।
रकम हस्तान्तरण कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेले प्रतियोगिताका प्रचारका लागि बजारका विभिन्न स्थानमा करिब १६ वटा गेट निर्माणमा संघले सघाउने बताए । ‘प्रतियोगितालाई सफलपार्नका लागि उद्योगी, होटल व्यवसायी, खुद्रा तथा सम्पूर्ण व्यवसायीलाई सहयोगका लागि आव्हान गर्नेछौं,’ न्यौपानेले प्रतियोगिताका लागि सबै क्षेत्रबाट सहयोगको खाँचो औंल्याए ।
प्रतिष्ठान अध्यक्ष खड्कीले प्रतियोगिताका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त भएको बताउँदै प्रायोजक र सहप्रायोजकको टुंगो केहिदिनमै लाग्ने बताए । उनका अनुसार जिल्ला विकास समिति, हेटौंडा उपमहानगरपालिका, उद्योगी तथा विभिन्न संघसंस्थाबाट सहयोगको लागि प्रतिबद्धता आएको छ ।
प्रतिष्ठान महासचिव तथा प्रवक्ता सविन न्यौपानेले प्रतियोगिताको तयारीस्वरुप हाल मैदान मर्मत कार्य भइरहेको बताए । हाल मैदानको सरसफाइ नेपाली सेनाले गरिरहेको छ भने आज मंगलबारबाट सशस्त्र प्रहरीले पनि सहयोग गर्नेछन् । ‘मैदान सम्याउने र घर्ने काम पनि मैदान सरसफाइसँगै अगाडि बढ्नेछ,’ न्यौपानेले भने ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी निधन भएका हेटौंडेली खेल पत्रकार तथा खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखा अध्यक्ष सुमन भोम्जनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा नेपाल, भारत र भुटानका चर्चित फुटबल क्बलहरुले सहभागिता जनाउनेछन् ।
-सुवास विडारी

All news in One Place