चित्लाङमा आउँदैछ केबलकार


काठमाण्डौको थानकोटबाट मकवानपुरको चन्द्रागिरि अब ९ मिनेटमै पुग्न सकिने भएको छ । यसका लागि केबलकार निर्माण कार्यलाई तिब्रता दिइएको छ । चन्द्रागिरि पुग्न पार गर्नुपर्ने १२ किलामिटरको सडक दुरी साढे २ किलोमिटरमा खुम्चँदैछ । काठमाडौं फनपार्क प्रालिले थानकोटमा बनाउँदै गरेको चेकपोष्टबाट चन्द्रागिरि महादेवस्थान पुग्ने केबुलकार निर्माण सम्पन्न भएपछि छोटो समयमै पुग्न सकिने हुँदैछ । चन्द्रागिरि डाँडामा रहेको महादेव मन्दिरको नाम भालेश्वर महादेव मन्दिर हो ।   चन्द्रागिरिमा अहिले केबुलकारको स्टेशनहरु, महादेव मन्दिरलगायत पूर्वाधार निर्माणको काम तीब्र गतिमा भइरहेको    छ । 

   भारतको अघोषित नाकाबन्दीलाई    कारण देखाउँदै सरकारी बजेटमा आधारित विकास निर्माणका सबै काम ठप्प छन् । तर, निजी क्षेत्रले निर्माण गर्दै गरेको चन्द्रागिरि केबुलकार प्रोजेक्टमा भने भटाभट् काम भइरहेको देखिन्छ । आगन्तुकको नजरमा त्यहाँको निर्माण कार्यमा नाकाबन्दीको कुनै असर देखिँदैन । फनपार्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्–‘हामी धेरै समस्यासँग जुध्दै काम गरिरहेकाछौं । र, आगामी फागुन महिनाभित्र केबुलकार सञ्चालनमा ल्याउने प्रयासमा छौं ।’

  चन्द्रागिरीबाट हिमाल, पहाड र  तराईको दृष्यावलोकन गर्न सकिने स्थानबाट काठमाडौं सहर र पहाडी क्षेत्रका बस्तीहरु नजिकबाट नियाल्न सकिन्छ । सँगै चन्द्राागिरि पर्वतको हरियो बनको बीचमा रहेर प्रकृतिसँग रमाउने अवसर त     छँदैछ । चन्द्रागिरि पर्वतको शिखरको महत्व धार्मिक र ऐतिहासिक दुबै पक्षमा चर्चित छ । जहाँ हिन्दुहरुको देवता शिवदेखि नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहसम्मले यात्रा गरेको धार्मिक ग्रन्थहरु र इतिहासमा वर्णित    छ ।

   चन्द्रागिरीको महादेवस्थान पुग्न काठमाडौं थानकोटबाट करिब २ घण्टा बढी समय ठाडो उकालो चढ्नुपथ्र्यो । अहिले चेकपोष्ट, चित्लाङ भञ्ज्याङहुँदै उक्त स्थानसम्म कच्ची मोटरबाटो प्ुगिसकेको छ । करिब १२ किलोमिटर लामो उकालो सडक पार गर्न बलियो इञ्जिन भएको जिपलाई आधा घण्टा लाग्छ ।
ढकालका अनुसार–२०७२ वैशाखदेखि केबुलकार सञ्चालन गर्ने लक्ष्य थियो । स्थानीय तहमा देखिएका जटिलता, भूकम्प, नाकाबन्दीजस्ता कारणले केही ढिला हुँदै आएको छ । सुरुमा योजना निर्माण लागत २ अर्ब ५० करोड रुपियाँ गरिएको थियो । तर, अहिले बृद्धि भएर ३ अर्ब २५ करोड रुपियाँ नाघ्ने भएको छ, उनी भन्छन्–महँगी बढेको छ । बैंकको व्याज चढिरहेको छ । सरकारलाई कर     बुझाइरहनु परेको छ । केबुलकारको बेसस्टेशन भवन, टप स्टेशन भवन, केबुलकारको घिर्नी तथा मेसिनरी सेटअपको काम सकिएको छ । पोलहरु निर्माणको काम सम्पन्न भएका छन् ।

  केबुलकार र त्यसको तार योजना स्थलमा ल्याइएको छ, अब जडान गर्न मात्रै बाँकी छ । विद्युत आपूर्ति र       जेनेरेटरको बन्दोबस्त भइसकेको छ । ‘एक हप्तामा केबुलकार सम्बन्धी सबै काम सकिन्छ,’ प्रोजेक्ट मेनेजर अभिशेक शाहले भने । चेकपोष्टनजिकै रहेको केबुलकार चढ्ने स्टेशनमा रेष्टुरेन्ट, सपिङ सेन्टर, सवारी पार्किङस्थल, बगैँचा बनाउने कार्य भइरहेको     छ । ३ सय मोटरसाइकल, २ सय कार र १ सय बस पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल निर्माण      गरिँदैछ ।


चन्द्रागिरि महादेवस्थलमा फोरडी थिएटर, भ्यूटावर, जिप, रक क्लाइम्बिङ,      रेष्टुरेन्ट, रिसोर्ट, फर्नपार्क निर्माण गरिँदैछ । कम्पनी अध्यक्ष ढकालको दैनिक १० हजारदेखि १५ हजार मानिस त्यस क्षेत्रमा जाने अनुमान छ । दृष्यावलोकनका लागि मन्दिर नजिकै भ्यू टावर बनिसकेको छ । फोरडी थिएटर पनि तयार भइसकेको    छ । ओपन थिएटर बन्दैछ । दुई वटा सम्मेलन हल, सय रुम क्षमताको सुविधा सम्पन्न रिसोर्ट बनाइँदैछ । त्यस्तै      कर्पोरेट हाउस, आईएनजीहरुले गर्ने सभा, सम्मेलन, गोष्ठी, वर्कसपजस्ता कार्यक्रम गर्न योग्य हुने  गरी रिसोर्ट बनाइँदैछ ।

 फनपार्कले सरकारसँग चन्द्रागिरि पर्वतमा ३६ बिगाह जमिन भाडा लिएको छ । त्यसमध्ये ५ बिगाहामा आवश्यकताअनुसार पूर्वाधार विकास     गर्नेछ । बाँकी जमिनको बन संरक्षण गर्ने जिम्मेवारी लिएको छ । कम्पनीले प्रतिबिगाह ५ हजार रुपियाँका दरले सरकारलाई रकम बुझाउनुपर्छ । सरकारसँग लिजमा लिएको जग्गाबाहेक कम्पनीले चेकपोष्टसँग १ सय २५ रोपनी जग्गा किनेको छ । सो क्षेत्रमा केबुलकारको बेसस्टेसन छ ।

All news in One Place