सरसफाई सप्ताह हेटौंडामा
नेपाल सरकारले सुरु गरेको सप्ताहव्यापि राजमार्ग सरसफाई अभियान हेटौंडा आइपुगेको छ । शनिबार नेपाल सरकारको सरसफाइ दुत कुञ्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुस)ले हेटौंडा नगरक्षेत्रमा पर्ने राजमार्गको सरसफाइ गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । हेटौंडा–१ राप्तिरोडबाट सुरु भएको सरसफाइ अभियान बसपार्क, मेनरोड हुूदै कर्रा र औद्योगिक क्षेत्रसम्म पुगेको थियो । शनिबार नै टोलीले बाराको पथलैया क्षेत्रमा पनि यो अभियान सञ्चालन गर्ने बताइएको छ ।
हेटौंडा उपमहानगरपालिकाले संयोजन गरेको कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सह–सचिव गोपी खनालले हेटौंडा तुलनात्मक रुपमा अन्य सहर भन्दा सफा रहेको पाइएको बताउनुभयो । नगर सफा राख्न आफ्नो घरबाटै सुरुवात गर्नु पर्ने भन्दै उनले अब घरघरबाट सरसफाइ अभियान थाल्नु पर्ने बताए । सरसफाइ सद्भावना दुत नियुक्त भएपछि आफूहरुलाई नै सरसफाइ अभियानमा सहभागि हुने उत्साह जागेको कुञ्जना घिमिरेले जानकारी दिनुभयो । हेटौंडामा सरसफाइ अभियान सुरु भएसूगै विभिन्न टोल विकास संस्थाहरुले टोलटोलमा सरसफाइ अभियान सुरु गरेका थिए । उनीहरुले शनिबार धुर्मस र सुन्तलीसंगै मिलेर राजमार्ग सरसफाइमा सहभागिता जनाएका थिए । सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापा, हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेव कुमार पोखरेललगायत जिल्लाका राजनीतिक दल, टोल विकास संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो । पुष १६ गतेसम्म सञ्चालन हुने सरसफाइ अभियानमा नेपाल सरकारले पूर्व पश्चिम राजमार्गको सरसफाइ गर्ने छ । सम्बन्धित नगरपालिकाले समन्वय गर्ने गरी कार्यक्रम तय भएको हो ।