थाहानगरमा समुदायमा आधारित प्यालेटिभ केयर विषयमा स्काइपबाटै अनुशिक्षण
मकवानपुर थाहानगरमा समुदायमा 'आधारित प्यालेटिभ केयर' विषयक अनुशिक्षण कार्यक्रम भएको छ । थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारको प्रमुख आतिथ्यमा १७ भादौमा भएको कार्यक्रममा नगरस्थित वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनीधहरु, राजनीतिक दलका प्रमुखहरु, स्थानीय संघसंस्थाका प्रतिनीधहरुलगायतकाको उल्लेख्य उपस्थिती रहेको थियो ।
‘जिऔ राम्ररी, मरौं राम्ररी’ भन्ने मुल नाराको साथ संचालन गरिएको कार्यक्रम हस्पिस नेपालको सहयोगमा संचालन गरिएको हो । कार्यक्रमको स्थानीय व्यवस्थापन प्राथमिक स्वास्थ्य केन्द्र पालुङका सिनियर अहेव चिनिया लामाले गरेका थिए । कार्यक्रमका सहभागिहरुलाई स्काइपबाटै चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजका सर्जरी विभागका प्रोफेसर डाक्टर प्रदिप बैद्यले प्यालेटिभ केयर सम्बन्धी अनुशिक्षण गरेका थिए । यसरी प्रविधिको प्रयोग गरी सहभागीहरुलाई अनुशिक्षण दिइएको थाहानगरको संभवन पहिलो कार्यक्रम हो ।
कार्यक्रमको अवसरमा संघसंस्थाहरको तर्फबाट पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिमलकुमार ढकाल, प्राथमिक स्वासथय केन्द्र पालुङका प्रमुख डाक्टर रिनेश अधिकारी, राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, हस्पिस नेपालका इन्चार्ज गणेश कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र पालुङको अभिलेख अनुसार थाहानगर क्षेत्रमा ३५ जना क्यान्सरको विरामी रहेका छन् । कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारलाई सिनियर अहेव चिनिया लामाले मायाको चिनो प्रदान गरेका थिए ।