साउदी जेलमा परेका रामचन्द्रको उद्धारमा खटिँदै थाहानगरका कुँवर

अभियानबाट गैरसरकारी संघसंस्थाहरु र दयावीरहरुको सहयोगले रामचन्द्रको उद्धार कार्य अन्तिम चरणमा पुगेको उनले बताए । रामचन्द्र तिमिल्सिनालाई साउदी अदालतले ४५ दिन भित्र १ लाख २० हजार साउदी रियल अर्थात् ३५ लाख नेपाली रुपैया जम्मा गर्न आदेश गरेको थियो । साउदी जेलमा रहेका रामचन्द्रले अदालतले आदेश गरे अनुसारको रियल (ब्लड मनि) जम्मा गर्न सक्ने अरु विकल्प थिएन ।
‘अझ यो पनि सम्झौता गरिएको हो, पहिले त ३ लाख साउदी रियाल अर्थात् झण्डै ९० लाख रुपैया तिर्नुपर्ने फैसला सुनाइएको थियो,’ कुँवरले भने ।
विगत ८ वर्ष साउदीमै रहेका थाहा नगरपालिकाका कुँवरले रामचन्द्र वचाऔं अभियान सञ्चालन गरेपछि विभिन्न देशमा रहेका नेपाली संघसंस्थाहरुवाट सहयोग जुटी रहेको जानकारी दिए । ‘अव केही रकम जम्मा हुन बाँकी छ । केही दिन भित्रै जम्मा हुन्छ र हामी तिमिल्सिना उद्धारको अन्तिम चरणमा पुगेका छौ’ कुँवरले भने ।
कतारमै आफ्नो कामको दैनिक ड्युटी पुरा गरेर रामचन्द्र वचाऔ अभियान सञ्चालन गरेका कुँवर अभियानमा सफल भएका छन् । फोन तथा सामाजिक सञ्जालको सहयोगमा सहयोग जुटाइएको हो ।
कसरी जेल परे रामचन्द्र ?
परदेशमा राम्रो कमाएर घरबार चलाउने, ऋण तिर्ने र छोराछोरीलाई राम्ररी पढाउने सल्लाहले दुई वर्ष अघि साउदी अरेबिया पुगेका उनी यतिखेर त्यहाँको जेलमा थुनिएका छन् ।
रामचन्द्र त्यहाँको हायल सेन्ट्रल जेलमा १५ महिनादेखि थुनिएका हुन् । उनलाई ट्रक चलाउँदा दुर्घटना गराएर मानिस मारेको अभियोगमा ३ लाख रियाल (ब्लड मनी) अर्थात् ९० लाख रुपैया जरिवाना फैसला गरिएको थियो ।
‘जबिराह हायल सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड सकेर कम्पनीकै पार्किङमा राखेको मेरो ट्रकमा पाकिस्तानीहरु चढेर आएको कार ठोक्किएको थियो । त्यसमा एक जनाको मृत्यु भयो । पार्किङ एरियामा उनीहरुको जमात धेरै थियो । मेरो ट्रकमा रक्सीको बोतल राखिदिएछन् । रक्सी खाएर ट्रक चलाएको भन्दै पक्राउ गराए’, रामचन्द्रले भने ।
‘मेरा तामाका मुना जस्ता दुई छोराहरु र जन्म दिने आमा बुबाको किरिया खाएर भन्छु, मैले नेपालमा रहँदा पनि खाने गरेको थिइनँ र साउदी आएपछि खाने त कुरै छाडौं, रक्सी छोएको पनि छैन’, उनले थपे ।
नेपालमा रहँदा उनले काभ्रे मिनिबस सेवा समिति अन्तर्गत पनौती–काठमाडौं चल्ने मिनिबस किनेका थिए । आफैं चलाउँथे । घरखर्च चले पनि दैनिक कमाइले ऋणका किस्ता तिर्न हम्मे हुन्थ्यो । त्यही भएपछि दुबैको सल्लाहमा उनी पहिलो पटक कतार गए । कतारमा १३ महिनाको बसाईपछि घर फर्केका उनी पुनः साउदी अरब लागेका थिए ।
त्रिपुरेश्वर, काठमाडौंस्थित वल्र्डवाइड इम्प्लोइमेन्ट प्रालिलाई एक लाख रुपैंया बुझाएर दुई वर्ष अघि रामचन्द्र साउदी अरब पुगेका हुन् । भिसा आउँदा हेभी ड्राइभर काम भनिए पनि भनेकै कम्पनीमा काम गर्न नपाएको उनको भनाई छ, ‘कम्पनी नै दर्ता नभएको र ठेकेदारको १६ चक्के ट्रक चलाउने काम दियो’, उनले भने ।
नेपालबाट जाँदा बसिर मोहम्मद अल अनेजी ट्रान्सपोर्ट कम्पनी अलगसिम, साउदीको वर्किङ भिसामा काम गर्ने भनिए पनि उता पुगेपछि कम्पनीको नभई व्यक्तिको ट्रक चलाउने उनलाई काम दिइएको थियो ।
ट्रक पुरानो भएकोले ठेकेदारले बीमा पनि नगरेको रामचन्द्रले प्रहरी नियन्त्रणमा परेपछिमात्रै थाहा पाएका थिए । ‘मलाई काम लगाउने साहु पनि यो घटनाको २१ दिन पछि मात्रै सुरुमा मलाई थुनेको पुलिस स्टेसन आएर मेरो पासपोर्टमा ‘खूज’ छाप लगाइदियो । बीमा नभएकाले साहुले प्रहरीमा यस्तो छाप लगाएपछि मेरो केस सरकारले हेर्ने हुँदो रहेछ । वर्ष्दिन हुन लाग्यो, त्यसपछि साहु सम्पर्कमा आएकै छैन’, उनले थपे ।
यसैवीच, २०१६ अप्रिल २५ तारिखमा त्यहाँको अदालतले रामचन्द्रको विपक्षमा फैसला सुनाएको थियो । फैसलामा उनकै शतप्रतिशत गल्ती भएको दाबीसहित एक जना पाकिस्तानी नागरिकको मृत्यु भएको ठहर गरिएको छ ।
‘पाकिस्तानीको परिवारलाई ब्लड मनी वापत ३ लाख साउदी रियाल (नेरु करीब ९० लाख) तिर्नु पर्ने फैसला ‘हुकुम’ले सुनाएको छ । नेपालमा भएको ६ लाख ऋण तिर्न नसकेर विदेश आएको अब मैले यत्ति धेरै रकम कहाँ र कसरी ल्याएर तिर्नु?,’ रामचन्द्रले फोनमा भने ।
परदेशमा दुःख पाएका आफ्ना देशका नागरिकहरुलाई दूतावास, प्रवासी संगठन र गैरआवाशीय संघहरुले मद्दत गरेका समाचारहरु पढेको र सुनेको उनले आफू विपतमा पर्दासमेत सरकारले नसुनेको गुनासो गरे । प्रचण्ड सरकारले सरकारको पैसामा विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने भने पनि आफूलाई विश्वास नलागेको उनले बताए ।
‘नेपाली एम्बेसीमा धेरै पटक फोन गरेको छु । खोई आजसम्म कोही भेट्न र खबर लिन आएको छैन’, रामचन्द्रले भने ।
‘दुर्घटनामा मर्नेको काका पनि यहीँ साउदीमै काम गर्छ । उसलाई धेरै बिन्ती गरेँ । मैले जानीजानी मारेको हैन भनेर । मृतकको परिवारलाई फोन गरेर म पनि नेपालमा गरीब परिवारको भएकोले साउदीमा काम गर्न आएको हुँ भनेर माफी दिनका लागि अनुरोध गरिरहेको थिएँ । तर, फैसलामा एक्कासी त्यत्रो धेरै ब्लड मनी तिर्नु पर्ने सुनाउँदा छाँगोबाट खसेझै भएको छुु’, रामचन्द्रले भने ।
उताबाट फैसलाको प्रति घरमा आएदेखि रामचन्द्रका परिवार राम्रोसँग खान र सुत्नसमेत सकेका छैनन् । अनाहकमा माइलो छोरा विदेशको जेलमा परेको सुनेदेखि बुहारी सरितासँगै सासु जोगमाई र ससुरा शेषनारायणको अनुहारमा दुःख र पीडा देखिन्थ्यो । घरमा भेट्न र सान्त्वना दिन आउने गाउँलेहरुवीच पीडा लुकाउने उनीहरुको प्रयत्न छिप्दैन थियो ।
अंशमा पाएको कच्ची घर भुकम्पमा भत्किएपछि सरिताले जस्तापाताले बारेर अस्थायी टहरा बनाएकी छिन् । टहरा बनाउँदा ५० हजार ऋण लागेको छ । सबै दाजुभाई अलग्गै काम गर्दै आएको भएपनि मालपोतमा अंशबण्डा नभएकाले भुकम्प पीडितले पाउने अस्थायी टहरा निर्माण र न्यानो कपडा बापतको राहत रकम समेत उनले पाइनन् ।
ससुराबाट पाएको जमीनको उब्जाउले तीन महिना पनि खान नपुग्ने भएपछि उनलाई ज्यालाबनी नगरि सुखै छैन । छिमेकी गाविसको रोशी माइती भएकी सरिताको १० वर्ष अघि रामचन्द्रसँग बिहे भएको हो । यतिखेर उनीहरुका ५ वर्षका आयुष र ७ वर्षका निराजन दुई छोरा रहेका छन् ।
‘मिनिबस किन्दाको अझैं ६ लाख जति ऋण सहकारीमा तिर्न बाँकी छ । त्यही कमाउँला भनेर साउदी जानु भएको हो । अब उहाँलाई जेलबाट छुटाउनका लागि सोच्दै नसोचेको रकम जुटाउनु पर्ने भयो । म एक्लीले त्यत्रो पैसा कहाँबाट जुटाउन सक्नु?’, सरिताले भक्कानिँदै भनिन् ।