मौलिकता गुमाउँदै तीज

तीजको सांस्कृतिक पक्ष र पत्रकार महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै क्रियाशील पत्रकार महिलाकी केन्द्रीय अध्यक्ष शुभेच्छा विन्दु तुलाधरले तीजको नाममा विकृति बढ्दै गएको र त्यसले महिलाको पेशागत जीवनमा पछाडी पारेको बताउनुभयो । एक महिना अघिदेखि हुने दर खाने कार्यक्रमले महिलाहरुलाई त्यतै व्यस्त गराउने र उनीहरुलाई आफ्नो पेशामा लागिरहन वाधा देखिएकोले स्वयम् महिलालाई पछाडी पारेको धारणा राख्नुभयो । फरक प्रशंगमा उहाँले आफू प्रेस काउन्सीलको सदस्य पनि भएकोले आचारसंहिता पालना गरेर काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । काउन्सिलका केही त्रुटिपूर्ण प्रावधानहरुलाई सुधार गर्न आफ्नो प्रयास जारी रहेको भन्दै उहाँले ईमान्दार भएर काम गर्न कार्यक्रममा सहभागी पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा धारणा राख्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष भानुभक्त आचार्यले तीजको नाममा विकृतिले स्थान पाईरहेको बताउनुभयो । यस्तै, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एवम् क्रियाशील पत्रकार महासंघ मकवानपुरका सल्लाहकार नानीमैया विष्टले तीज मनाउने तरिकाले गर्दा गरिब र सम्पन्न परिवारका महिलाहरुबीचको दुरी झनै बढ्दै गएको बताउनुभयो । पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारुमगर, सदस्यद्वय सुरेश श्रेष्ठ र बालकृष्ण अधिकारीले तीजको नाममा भईरहेको अस्वभाविक छाडापनलाई मिडियाले दुरुत्साहन गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो । यस्तै, पत्रकार भावना रिजाल श्रेष्ठ र मिना श्रेष्ठले तीज मान्ने क्रममा हुने महिलाका तडकभडक र देखावटी प्रतिस्पर्धालाई स्थान दिन नहुने भन्दै संस्कृतिको जगेर्ना गर्ने हिसाबले तीज मनाउनमा प्रोत्साहन गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहभागीहरुले तीजको सांस्कृतिक पक्ष, गरिबीमा भएका महिलाका तीज, गाउँको समस्या जस्ता कुराहरुलाई पनि सञ्चार माध्यम र सञ्चारकर्मीले स्थान दिनुपर्ने भन्दै अनावश्यक तडकभडकलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए । क्रियाशील पत्रकार महिला मकवानपुरका उपाध्यक्ष रेश्मी कार्कीको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा क्रियाशील पत्रकार महिलाकी केन्द्रीय अध्यक्ष शुभेच्छा विन्दु तुलाधरको प्रमुख आतिथ्यता रहेको थियो ।