आर्थिक विकासमा महिला

विश्व अहिले आर्थिक विकासको तिव्रतर गतिमा अगाडि बढिरहेको बेला नेपालमा भने आर्थिक वृद्धिदर १% भन्दा कम रहेको छ।विश्वका प्राय देशहरुको तुलनामा न्यून गतिमा आर्थिक विकास भइ रहेको नेपालमा अझै करिब २५% नेपाली गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ भने नेपालको आधी आकाश भन्दा बढी (५१.५०%) ओगटेका महिलाहरूको आर्थिक अवस्था झन् दयनीय रहेको देखिन्छ । हाल नेपालमा महिला साक्षरता जम्मा ५७.४% रहेको छ भने आर्थिक क्रियाकलापमा सम्लग्न र स्वावलम्बि महिलाहरुको संख्या अझै पनि कमै रहेको छ।
नेपालका धेरै जसो जनसंख्या गाउँमा नै रहने गरेका छन् भने उनीहरुको आयस्रोत र जीवन धान्ने आधार नै मात्र कृषि र पशुपालन बनेको छ भने धेरैलाई जीवन गुजारा गर्न पनि मुस्किल परिरहेको देखिन्छ। घरपरिवार र सन्तानको लालनपालनमा नै समय विताइरहेका असख्य नेपाली महिलाहरु सानो भन्दा सानो आवश्यकता पूर्तिका लागि पनि परनिर्भर हुनु पर्ने वाध्यात्मक परिस्थितिले नेपाली महिलाहरुको जनजीवन झन् कठिन बनिरहेको छ जसको असर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परिवार र सन्तानको भविष्यमा परिरहेको हुन्छ।
महिला सशक्तीकरणको लहर पुरै विश्व भरी नै आइरहँदा नेपाल पनि यसबाट अछुतो रहेको छैन । महिला सशक्तीकरण र महिला आर्थिक बिकासका लागि सरकारी र गैरसरकारी तवरबाट केही प्रयासहरु भइ रहेता पनि नेपालका धेरै महिला विशेष गरि गाउँका महिलाहरुलाई यो लहरले न छुन सकेको छ न त चेतना र अवसर नै प्रदान गर्न सकेको छ। सहर बजार र विकसित क्षेत्रका केही महिलाहरुमा आर्थिक विकासको सचेतना र अवसर प्राप्त भइरहँदा अविकसित र दुर्गम भेगका अधिकांश महिलाहरू बिहान र बेलुकीको छाक टार्नैका लागि संघर्ष गरिरहेको तितो यथार्थ यहाँ हामी देखिरहेका छौं। परिवारमा सबल,शिक्षित र सक्षम भए पूरा परिवार,समाज र राष्ट्र नै सक्षम बन्छ भन्ने भनाइमा सान्दर्भिकता भए पनि पारिवारिक वाधा,सामाजिक मूल्य मान्यता र परम्पराका कारण पनि महिलालाई आर्थिक सवलताको बाटोमा हिड्न कठिन भइरहेको देख्न सकिन्छ । यी सबै कारणले प्राय महिलाहरूमा केही गर्ने हिम्मत र चाहाना हुँदाहुँदै 
पनि पछि हट्नु पर्ने वाध्यताले गर्दा स्वावलम्वनको बाटोमा महिलाहरू गतिशील बन्न सकिरहेका छैनन् ।
कृषिमा आधुनिकीकरण र बजार व्यवस्थापनको अभावका कारण हाल कृषि क्षेत्रमा लाग्नेहरुको पनि यो पेशा प्रति वितृष्णा पैदा भइरहेको छ।साथै रोजगारी र अवसरको अभावमा स्रोतसाधनको हिसाबले भरिपूर्ण भएर पनि यसको उपयोग हुन नसक्दा यहाँका अधिकांश सक्षम युवा शक्ति विदेशिने क्रम बढ्दो छ,जस्मा महिलाको संख्या पनि अधिक रहेको देखिएको छ । यस्ले रेमिटेन्स भित्र्याए पनि देशको विकासमा नकारात्मक असर पारिरहेको छ।
आर्थिक विकासमा महिलालाई सबल र सक्षम बनाउने हो भने यसतर्फ परिवार,समाज र देशले नै ध्यान दिन जरुरी देखिन्छ भने महिला स्वयम् पनि आफ्नो सर्वत्तर विकासका लागि जागरुक हुन आवश्यक छ।परिवार र समाजको मूल्य मान्यता र परम्परालाई महिलाको वृत्त विकासमा अड्चन बन्ने क्रम हटाउनु पर्छ।कृषि क्षेत्रमा आधुनिकीकरण र बजार व्यवस्थापन मात्र पनि उचित र व्यवस्थित हुने हो भने महिलाहरुको आर्थिक विकास सबल हुनुका साथै नेपालको गरिबी पनि निकै कम हुने देखिन्छ ।महिलामुखी कार्यक्रम र आधारभूत आवश्यकतामा पूर्ण पहुँच पुर्‍याउन सक्ने हो भने देशले विकासको गतिशीलतामा अग्र स्थान हासिल गर्न धेरै समय लाग्दैन ।देशमा भएका असंख्य संभावित स्रोत र साधनमा लगानी गर्न सकेमा पनि नेपालीले गाँस, बाँस र कपासका लागि छिमेकीको मुख ताक्नु पर्ने थिएन।यी र यस्ता समस्या एवं सम्भावना तर्फ हामी सबैको ध्यान जान जरुरी छ साथै सबैले आफ्नो क्षेत्रबाट सक्ने प्रयास गर्ने हो र कम्तीमा एक महिलालाई मात्र पनि आर्थिक रुपमा सक्षम बनाउन,अवसरका लागि सिपमूलक र चेतनामूलक कार्य हामी प्रत्येकबाट हुने हो भने नेपालमा भोक र अभावमा छट्पटिएको दृश्य र खबर हामीले देख्न र सुन्न पर्ने थिएन।

All news in One Place