वाह्य शक्तिको दुत नबन्न प्रचण्डलाई कमल थापाको आग्रह
धर्मेन्द्र दाहाल ।
हेटौँडा/ उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकास मन्त्री तथा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले सरकार ढाल्न एमाओवादीले गरेको निर्णय अप्रत्यासित र अब्यवहारिक भएको बताएका छन् । नेपालको संविधान कार्यन्वयनको लागि निर्माण भएको सरकारलाई महत्वपूर्ण मन्त्रालयसहित रहेको एमाओवादीले आफ्नो नेत्तृत्वमा सरकार गठनको लागि गिराउन खोज्नु लज्जास्पद भएको बताए ।
मिडीया नेपाल मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले एमाओवादी अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री बन्नको लागि बाह्य शक्तिको आडमा राष्ट्रिय एकता, अखण्डता तथा स्वाभिमानलाई संकटमा पार्दै देशलाई अस्थितरता तर्फ लगेको बताए । उनले प्रधानमन्त्रीको मोहमा प्रचण्ड बाह्य नेपालको हित नचाहने शक्तिको दुत बन्न खेजेको र त्यो नगर्न आग्रह समेत गरेका छन् ।
संविधान कार्यन्वयन गर्ने समयमा प्रचण्ड आफै सरकार गठन तथा गिराउने फोहोरी खेलमा लागेको भन्दै थापाले यो समय संविधान तथा देशको रक्षा गर्ने समय भएको बताए । सरकार सञ्चालनको लागि सहयोगको भुमिका निर्वाह गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष प्रचण्ड आफै भएको अवस्थामा सरकार गिराउन लाग्नु अप्रत्यासित भएको बताए । नेपालको समृद्धि नचाहानेहरुको लहैलहैमा लागेर प्रधानमन्त्रीको लागि प्रचण्ड फोहोरी खेलमा लाग्नु निकै चिन्ताको विषय भएको थापाको भनाई रहेको छ ।