स्वर्गीय मातापिताको स्मृतिमा छात्रवृत्ति

हेटौंडा/मकवानपुरको हटिया घर भई हाल अमेरिकामा रहँदै आउनुभएका दिपक भट्टले आफ्ना स्वर्गीय माता पूर्णकुमारी भट्ट र पीता यदुकुमार भट्टको स्मृतिमा प्रदान गर्नुभएको छात्रवृत्ति रकम भीमफेदीमा शनिबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
भीमफेदीमा रहेको महेन्द्र उच्च माविमा अध्ययनरत दुई छात्रा सम्झना लामा र मनिषा लामालाई छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरी सोही विद्यालयका प्राचार्य रामजी यादव र पत्रकार शुभलक्ष्मी विश्वकर्माले हस्तान्तरण गरेका हुन् । विगत आठ वर्षदेखि भट्टले जिल्लाको विभिन्न विद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने गरिब तथा जेहन्दार विद्यार्थीमध्ये वार्षिक रुपमा दुई जनालाई अध्ययन सहयोग रकम वितरण गर्दै अाएका छन् ।
छात्रवृत्ति वितरण कार्यक्रमको औचित्यबारे बताउँदै पत्रकार शुभलक्ष्मी विश्वकर्माले दुई विद्यार्थीले राम्रो नतीजा दिँदै सहयोगी भट्टको सहयोगलाई उपलब्धीमा बदल्न अनुरोध गरे । कक्षा ११ उत्तीर्ण गरेमा दुबै छात्राले कक्षा १२ मा अध्ययनका लागि पनि छात्रवृत्ति रकम प्राप्त गर्ने जानकारी गराउँदै उहाँले दुबैको उज्वल शैक्षिक भविष्यको कामना गरे । कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै विद्यालयका प्राचार्य यादवले सहयोगी दिपक भट्टलाई धन्यवाद ज्ञापन गरे ।
छात्रवृत्ति
ले विद्यार्थीको अध्ययनमा सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राख्नुभयो । छात्रवृत्ति वितरण कार्यक्रममा स्थानीय रञ्जित मगर, शिक्षक दिपक देवकोटा, प्रदिप अर्याल, दिनेश सुवेदी, शारदा सिकारी लगायतको उपस्थिति रहेको थियो ।

All news in One Place