वनै खायो डढेलोले

सुरजकुमार भुजेल
मकवानपुरका विभिन्न वनमा लागेको डँढेलोका कारण चार हजार पाँचसय हेक्टर वनमा क्षति पुगेको   छ । वनमा लाग्ने गरेको डडेलोका कारण वार्षिक करिब ५३ लाख  बराबरको काठ नष्ट हुने गरेको जिल्ला वन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा रहेका एक लाख ३४ हजार हेक्टर बन क्षेत्रमध्ये ७४ हजार हेक्टरमा सामुदायिक वन रहेको छ । यसवर्ष अहिलेसम्म जिल्लाका ३५ प्रतिशत वनमा आगो लागेको जिल्ला बन कार्यालय मकवानपुरका सूचना अधिकृत विशाल भट्टराइले बताए ।   वनमा लागेको आगोको प्रतिशत देशकै क्षति प्रतिशत उच्च हो । नेपालमा यसवर्षको यो अवधिसम्म २० प्रतिशत वनमा आगो लागेको छ भने मकवानपुरको ३५ प्रतिशतमा आगो लागेको छ । मकवानपुरमा ४ सय ४ वटा सामुदायिक बन छन् । यसमध्ये एकसय पाँच वटा सामुदायिक वनमा आगो लागेको छ ।
मकवानपुरको चित्लाङ, थाहानगर, नामटार फाखेल, मार्खु, भैंसे, गढी, हेटौंडानगर, मनहरी, फापरबारी र राक्सिराङ क्षेत्रका सामुदायिक वनमा डँढेलो लागेको उनले जानकारी दिए । उत्तरी मकवानपुरको थाहानगर स्थित ऋषेश्वर सामुदायिक वनमा करिब डेढ हेक्टर क्षेत्रफलमा आगो लागेको इलाका वन कार्यालय पालुङका प्रमुख तथा वन अधिकृत कालु पाख्रिनले बताए । त्यस्तै गोगने र टिष्टुङ गाविसको राष्ट्रिय वनमा करिब ५÷५ हेक्टर जति क्षेत्रफलमा आगलागी भएको अधिकृत पाख्रिनले बताए । यस वर्ष जिल्लाको १ सय ५ सामुदायिक वनमा आगो लागेको छ । 
    मकवानपुर जिल्लामा ५९ प्रतिशत उपउष्णीय पहाडी क्षेत्रको साल बन र ७ प्रतिशतभन्दा बढी उष्णीय सालको मिश्रित वन छन् । तथ्यांक अनुसार मकवानपुरका आधाभन्दा बढी बनमा सालका प्रजाति छन् । सालका रुख बढी प्रज्ज्वलनशील भएकाले पनि यसलाई डँढेलोको दृष्टिबाट अन्य बनभन्दा बढी जोखिम मान्न    सकिन्छ । जिल्ला बन कार्यालय   मकवानपुरले ५४ प्रतिशत बनलाई अतिसंवेदनशील,

४१ प्रतिशत बनलाई संवेदनशील मानेको छ भने ५ प्रतिशत बनमात्र डँढेलोको जोखिमबाट कम संवेदनशील सूचीमा राखेको छ । वर्षमा एक वा त्यो भन्दा बढीपटक आगलागी हुने बनलाई अतिसंवेदनशील, पाँच वर्षमा एक न एकपटक आगो लागेका बनलाई संवेदनशील र पाँच वर्षसम्म पनि डँढेलो नलागेका बनलाई कम संवेदनशीलको सूचीमा राखिएका छन् । मानव बस्तीको नजिक रहेको, सडकको पहुँच पुगेको र काठदाउरा ओसारपसार गर्न सजिलो हुने बनमा बढी आगलागी हुने गरेको बनको अध्ययनले देखाएको छ ।
    मान्छेको पहुँचभन्दा टाढाका बनमात्र कम संवेदनशील सूचीमा पर्नुले पनि मानवीय पहुँच पुगेको बन डँढेलोको दृष्टिले बढी जोखिम रहेको प्रष्ट्याउँछ । बन अतिक्रमण र खोरिया जग्गा तयारीका लागि जिल्लाको पश्चिम उत्तर क्षेत्रमा मानिस आफैंले डँढेलो लगाउने क्रम रहेको कार्यालयको तथ्यांकमा छ । बन डँढेलोले बनको उत्पादकत्व बढ्छ भन्ने आम धारणाले पनि डँढेलो बृद्धिमा सघाउ पु¥याएको देखिएको छ ।
सरकारले जनताले आफ्नो वन आपैंmले संरक्षण, सम्बद्र्धन र सदुपयोग गरुन् भनेर अधिकांश बन क्षेत्र समुदायलाई जिम्मा दिन थालेको पनि करिब २५ वर्ष नाघिसकेको छ । पछिल्लो तथ्यांकअनुसार देशभर १७ हजार ६ सय ८५ बन क्षेत्र समुदायलाई हस्तान्तरण गरि सकेको छ । एकचोटि डँढेलो लागेर सखाप भएको बन फेरि पुनः उही अवस्थामा आउन ५ वर्षभन्दा बढी लाग्छ । 

 स्याउलाको भर

    नेपालमा वर्षेनी डढेलो लाग्ने गर्दछ । प्रत्येक वर्ष लाखौं हेक्टर वन डढेलोले सखाप पर्दा पनि त्यसलाई नियन्त्रण गर्ने सरकारी तयारी भने शून्य छ । सरकारसँग वनको आगो नियन्त्रणमा लिने एउटा पनि उपकरण र प्रविधि    छैन । ‘अहिले हामी खाली हात छौं । तराई क्षेत्रमा केही वर्ष अघि बाँडिएका ‘वाटर ब्याग’ (२० लिटरसम्म पानी अट्ने झोला) पनि काम नलाग्ने भएका छन्’ वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीले भने ।
अहिलेसम्म पनि नेपालमा स्याउलाले हानेर आगो निभाउने जोखिमयुक्त प्रचलन कायमै छ, जुन ठूलो आगो अगाडि निष्प्रभावी हुन्छ । 
    सामुदायिक र साझेदारी वनका उपभोक्ताले आफ्नो वनमा आगो लाग्दा अझै यही बिधिको प्रयोग गर्ने गरेका   छन् । समय पानी नपरेको र ज्यादा हावाहुरी चलेका कारण वनको आगो नियन्त्रण आउनु भन्दा झन् फैलिँदै गएको छ । वनमा लागेको डढेलो रोक्नका लागि कुनै उपकरण छैन । डढेलो नियन्त्रणका लागि इलाका वन कार्यालय स्तरमा गठन भएको समुदायमा आधारित डढेलो नियन्त्रण समूह मात्रै छन् । गठन भएका समूहहरु पनि सबै सक्रिय छैनन् । विदेशमा डढेलो नियन्त्रणका लागि हेलीकोप्टरबाट पानी पार्ने तथा कार्बनाइ अक्साइट फ्याँक्ने  गरेको भए पनि त्यो प्रविधि नेपालमै नभित्रिएको जिल्ला वन कार्यालय मकवानपुरका सूचना अधिकृत विकास भट्टराइले बताए । 
    वि.सं.२०६७ मा बनेको वन रणनीतिले पनि समुदायमा आधारित कार्यक्रम संचालन गर्नकै लागि निर्देशित गरेकोले सोही कार्यक्रमलाई अघि बढाइरहेको भट्टराइले बताए । मकवानपुरमा १५ वटा फायर फाइटर ग्रुप रहेका छन् । भौगोलिक अवस्थाका कारा पनि दातृ निकायहरुले दिएका उपकराहरु प्रयोगमा नआउने       गरेको उनले बताए । 

मुलुकलाई नै चुनौति 

     नेपालको कुल वन क्षेत्र मध्ये २० प्रतिशत क्षेत्रफलमा आगलागी भएको छ । यो समाचार तयार पार्दासम्म झण्डै १३ लाख हेक्टर भन्दा बढी वन आगोले सखाप भएको छ । यो तथ्याङ्क चुनौतिपूर्ण छ ।   
   धेरै वनमा लागेका आगो अनियन्त्रित छन् । यसले अझै ठूलो विनास गर्ने स्थिति देखिएको छ । देशका २ सय ५९ वटा वन क्षेत्रमा ठूला आगो लागिरहेको देखिएको छ । वन विभागका अनुसार मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रका वनमा ठूला आगो लागेका छन् । कतिपय क्षेत्रका वनको आगो नियन्त्रणमा आइसकेको छ भने अधिकांश वन क्षेत्रमा आगो लाग्ने क्रम रोकिएको छैन । 

स्वास्थ्यमा पनि समस्या
वनमा आगोलागी भएका क्षेत्रसहित वरपरका भेगहरु अहिले बाक्लो धुँवाले ढाकेको छ । त्वाँलोले आँखा हेर्नै गाह्रो भएको छ । यसैकारण बालबालिका, वृद्धबृद्धा, बिरामीहरुलाई स्वास्थ्य समस्या देखिन थालेको छ । धुँवाले ढाकेका क्षेत्रमा आँखा पीरो हुने समस्या छ । मुख्यगरी स्वासप्रश्वासका बिरामीलाई यसले बढी असर गरेको छ ।
डढेलोको धुँवाका कारण छालाको रोग समेत लाग्ने, श्वास फेर्न गाह्रो हुने समस्या देखिने प्राथमिक स्वास्थ्य केन्द्र पालुङका सिनियर अहेव चिनिया लामाले बताए । धुँवामा सूर्यको किरण परावर्तन भइ सिधै आँखामा पर्ने भएकोले आँखा हेर्न गाह्रो हुने समस्या विद्यमान भएको लामाले बताए । धुँवाकै कारण हावामा कार्बनको मात्रा बढि हुने र अक्सिजनको कमी भई स्वास्थ्यमा समस्या हुने उनले बताए । 

डँढेलो नियन्त्रण रणनीति
वन डँढेलोको सकारात्मक तथा   नकारात्मक प्रभाव पर्ने सन्दर्भमा यसको व्यवस्थापन गर्नु चुनौतीपूर्ण कार्य हो । वन क्षेत्रको दीगो व्यवस्थापन गर्न टेवा पुग्ने गरी नीतिगत, कानूनी तथा संस्थागत सुधार, शिक्षा, जनचेतना, क्षमता अभिबृद्धि र प्राविधिक विकास, सम्बन्धित विषयमा जनसहभागितामा आधारित डँढेलो अनुसन्धान र विकास तथा सहकार्य, सञ्जाल विस्तार एवम् पूर्वाधार विकासलाई मुख्यरुपमा अगाडि सारिएको छ ।
नियन्त्रणमा के गर्ने ?
– चुरोट बिँडी खानेहरुले आगो राम्रोसँग निभाएर मात्र उचित स्थानमा फ्याँक्ने ।
– वनमा लागेको आगो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने जानकारी नजिकको वन कार्यालयबाट लिने ।
– वनमा डँढेलो लागेको देख्नासाथ सबै एकजुट भएर आगो नियन्त्रण गर्न जाने ।
– वन डँढेलोबाट हुने बेफाइदाका बारेमा सबैलाई चेतना जगाउने ।
– निजी स्वार्थका लागि कोही कसैले डँढेलो लगाएमा उसलाई कारबाहीका लागि नजिकको वन कार्यालयमा खबर गर्ने ।
डँढेलोको वातावरणीय प्रभाव
– पृथ्वीको सतहको माटो तातेर वनमा आश्रित सुक्ष्म कीटपतङ्ग लोप हुने ।
– पृथ्वीमा रहेका प्राणी तथा वनस्पतिमा नराम्रो असर पार्ने ।
– वन्यजन्तु तथा पशु आहारमा असर
– पानीको मुहान सुक्ने, बाढीपहिरो बढ्ने
– वनबाट आवश्यकीय बस्तु ह्रास हुने ।
डढेलो निभाउन महिला सक्रिय
    मकवानपुर चित्लाङकी जनकमाया श्रेष्ठलाई दुःख गरेर पालेको सामुदायिक वनमा आगलागी हुँदा मन भत्भती पोलेको  बताउँछिन् । नजिकैको धार्मिक वनमा एक्कासी डढेलो लागेपछि उनले          छरछिमेकलाई जम्मा गरिन् । जनकमायाको समूह डढेलो निभाउन स्याउला बोकेर वन पसे । महिलाहरुकै सक्रियतामा वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । चित्लाङमा एकसाता देखि मिलनचोक, मार्गिन तथा धार्मिक सामुदासयक वनमा  डढेलो लागेको थियो । 
    जनकमायासंगै डढेलो सामुदायिक वनमा लागेको आगो निभाउन गुण बलामी पनि उत्तिकै सक्रिय छिन् । वनतिर धुवाँ आएको देख्ने वित्तिकै चनाखो हुन्छिन् । चित्लाङका सामुदायिक वनहरुमा सात डढेलो लाग्यो कि निभाउन समूह     बनाएरै महिलाहरु वन जाने गरेका छन् । अघिल्लो दिन निभाएको डढेलो भोलीपल्ट फेरी सल्किने गरेकोले चित्लाङकी चिनकुमारी गमालले दुखेसो गरिन् । आफूहरुले घाँस सोत्तर गर्नुपर्ने जंगल डढेलोले सखाप पारेपछि अहिले निभाउनको लागि सक्रिय भएका हुन् । 
   वनमा लागेको डढेलो निभाउनको लागि पुरुषहरुले पनि उत्तिकै सहयोग गरिरहेको स्थानीय सुवर्ण गमालले  कबताइन् । यसवर्षको डढेलोले चित्लाङको मिलनचोक, मार्गिन लगायतका सामुदायिक वनहरुमा क्षति पुगेको मार्गिन सामुदायिक वनका सचिव निर्मल बलामीले बताए ।

वनस्पतिको नास, वस्तीमा त्रास
वनमा लागेको आगोले सामुदायिक वनमा रहेका बहुमुल्य वनस्पती नास भएकोछ । डढेलोका कारण मकवानपुर उत्तरी क्षेत्रका जंगलहरुमा रहेका सुनगाभा, पाषणभेद, सुनपाती, वनमुला, सतुवा, जटामसी, मजिठो, चुत्रो चिराइतो, विषझार लगायतका लोपोन्मुख जबिुट्टिमा क्षति पुगेको छ । 
   जबिुट्टि संरक्षणका लागि विभिन्न कार्यक्रमहरु संचालन भएको भएको भए पनि वर्षेनी वनमा लाग्ने डढेलोले नष्ट   गरेको छ । डढेलोले क्षति गरेको वनको क्षेत्रफलको रेकर्ड वन कार्यालयसंग भए पनि वनस्पती तथा जडिबुट्टीको क्षतिको विवरण जिल्ला वन कार्यालयसंग छैन । 
साना बोट विरुवा र बुट्यानहरु सखाप पारेको छ भने ठूला रुखरुलाई पनि प्रभावित गरेको छ । सयौं क्युफिट काठ र लाखौंका अमूल्य जडीबुटीहरु नष्ट भएका छन् । यस्तै वन्यजन्तुले बासस्थान छाडेका छन् भने कतिपय आगोमा परेर मरेका छन् । समग्रमा यसले जैविक विविधता र वनकोे प्राकृतिक स्वरुपमा ठूलो क्षति पु¥याउने महानिर्देशक डाँगीले बताए ।
   वस्ती छेउको सामुदायिक वनमा आगो लाग्दा गाउँघरमा त्रास फैलिएको छ । मकवानपुरको गोगनेमा गोमा आगलागी हुँदा दुई वटा भैसी जलेर मरेका छन् । चित्लाङमा पाँचवटा गोठ जलेको छ । चित्लाङको वडा नंबर २,४,५,६ र ९   नंबरका बासिन्दा उपभोक्ता रहेको मिलन चोक सामुदायिक वन पूरै डढेलोले सखाप पारेको स्थानीइ राजन बलामीले बताए । त्यस्तै चित्लाङको मार्गिन सामुदायिक वनमा पनि डढेलो लागेको छ । 

All news in One Place