एफसी पोताला लगातार चौथो पटक लिग च्याम्पियन
धर्मेन्द्र दाहाल ।
हेटौँडा/लिगमा पहिलो सहभागिता जनाएको हाम्रो सृजनशिल समाज फापरबारीलाई ट्राइब्रेकरमा ३–२ ले पराजित गर्दै हेटौँडा कर्राको एफसी पोतालाले लगातार ४ पटक एन्फा जिल्ला लिग फुटबलको उपाधिमा कब्जा जमाएको छ । लिगमा विजयी भएसँगै पोतालाले ४० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा फापरबारीले २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन वाध्य बन्यो । निकै रोमाञ्चक एवम् प्रतिस्पर्धात्मक खेलमा पोतालालाई फापरबारीले कडा चुनौति दिएको थियो । फाईनल खेलको ९ औ मिनेटमा पोतालाका सुनिल मल्लले गोल गर्दै डिफेन्डीङ च्याम्पियन आफ्नो टिमलाई १–० को अग्रता दिलाएपनि खेलमा फर्कदै फापरबारीले बाबुराम माझी मार्फत खेलको २७ औ मिनेटमा गोल फर्काउन सफल बन्यो । १–१ को रोमाञ्चक बराबरीले खेल हेर्ने दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
पहिलो हाफ १–१ को बराबरीमा रोकिएको खेलमा दोश्रो हाफमा दुबै तर्फबाट केहि राम्रो गोल गर्ने अबसरको सृजना भएपनि गोल नभएपछि खेलमा १० मिनेट समय थप गरियो । थप गरिएको १० मिनेटमा पनि गोल नभएपछि खेल ट्राइब्रेकरमा पुग्यो । ट्राईब्रेकरमा पोतालाका फरर्वाड विके लामाले गोल गर्दै पोतालालाई सुरुवाती अग्रता दिलाए । उता फापरबारीले पनि अस्विन आले मार्फत गोल गर्दै खेलमा थप उत्सुकता थप्ने काम गरे । त्यसपश्चात पोतालाका भिम लामा र विमल पाण्डेको प्रहार फापरबारीका गोल रक्षक राजकुमार लोप्चनल बचाउ गरेपनि फापरबारीका जिवन विक बाहेकका खेलाडीले गोल रक्षकको साथ दिन नसक्दा फापरबारी चुक्यो । फापरबारीका कप्तान चुनबहादुर थापा, राजेश लोप्चन र प्रदिप डिम्डुङकोृ प्रहारले गोलको दिशा लिन सकेन भने पोतालाका बाँकी सुरज विष्ट र सुनिल मल्लले गोल गर्दै टिमलाई ३–२ को संघर्षपूर्ण जित दिलाउँदै लगातार ४ पटक च्याम्पियन बनाए । प्रतियोगिताको म्यान अफ द म्याच फापरबारीमा बाबुराम माझी भए । प्रतियोगिताका विजेता उपविजेतालाई प्रमुख अतिथि तथा नयाँ सबुज गणका गणपती अमरसिंह थापा, शिक्षाविद पुरन बहादुर जोशी, फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितका अतिथिहरुले पुरस्कृत गरेका थिए ।
उत्कृष्ट पाँच
उत्कृष्ट कोच:
राजु विष्ट (एफसी पोताला)
उत्कृष्ट फरवार्ड: विके लामा (एफसी पोताला)
उत्कृष्ट मिडफिल्डर: विमल घलान (एफसी पोताला)
उत्कृष्ट डिफेन्डर: अमन राई (हाम्रो सृजनशिल)