बाल श्रमिकको प्रयोग कायमै, २ जनाको उद्धार
हेटौडा उपमहानगरपालिकालाई बालश्रमुक्त क्षेत्र बनाउने अभियान चलिरहेको छ । यसै अवस्थामा हेटौँडाको पल्पसारोडमा रहेको एक होटलबाट २ जना बालश्रमिकको उद्दार गरिएको छ । हेटौँडा–२ पल्पसारोडमा रहेको होटल न्यू ब्लु ड्राइगन होटलमा कार्यरत २ जना बालकको अनुगमन टोलीले उद्दार गरेको हो । १४ वर्षीय दुवै बालकलाई उद्दार पछि सिविन बाल हेल्पलाइनमा संरक्षणको लागि लगिएको छ ।
दुवै बालकको अभिभावकसँग छलफल पछि घर पठाइने सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए । यसअघि पनि सोहि होटलमा बालश्रमिक प्रयोग भइरहेको पाइएपछि आइतबार अनुगमन टोलीले पुनः अनुगमन गरेको हो । अनुगमनटोलीले हेटौँडा–४ मा रहेको मःम म्याजिक क्याफेमा पनि बाल श्रमिकको प्रयोग भएको फेला पारेको छ ।
मःम म्याजिकमा भने धादिङ जिल्लाबाट आएका एक जना १५ वर्षीय बालकले काम गरिएको पाइएको हो । बसपार्कमा रहेको डाँफे होटल एण्ड लजमा दुईजना बालश्रमिक भेटिएको हो । हाँडीखोलाका एक जना १५ वर्षीय र छतिवनका १५ वर्षीय बालिकालाई उक्त होटलले बालश्रममा लगाइरहेको पाइएको हो । यस्तै बसपार्ककै फुलबारी होडल एण्ड लजमा ११ र १२ वर्षको गरी दुई बालक भेटिएका छन् । मनहरी–३ घर बताउने उनीहरु केहि दिन अघि मात्र वार्षिक परीक्षा सकाएर दिदीको आएको प्रतिक्रिया दिएका छन् । बसपार्ककै सेन्टर प्वाइण्ट रेष्टुरेण्टमा पनि दुईजना बालश्रमिक भेटिएका छन् ।
हेटौँडा– १७ चुरियामाई चिप्लेटी घर बताउने र १५ वर्ष उमेर पुगेको बताउने उनीहरु केहि दिन मात्र कामदारको रुपमा आएको बताइएको छ । उनीहरुलाई छलफलको लागि बोलाइएको बालकल्याण समाजका श्रद्धा प्रधानले जानकारी दिइन् । प्लान नेपालको सहयोगमा बाल कल्याण समाजको निकृष्ट बालश्रम न्युनिकरण परियोजना (होप) अन्तर्गतको श्रम कार्यालय हेटौडाको अगुवाइमा भएको अनुगमनमा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।