एम्बुलेन्स किन्न फेसबुक अभियान
![]() |
| आग्रामा खरिद गरिएको एम्बुलेन्स । |
फेसबुक अभियानबाट रकम संकलन गरेर मकवानपुर आग्रा–गोगनेका बासिन्दाले एम्बुलेन्स खरिद गरेको दुई महिनापछि जिल्लाको अर्को स्थानमा पनि यस्तो अभियान थालिएको छ । फेसबुक जस्तो सामाजिक संजालको उपयोग गर्न सके श्रोत संकलन गर्न सकिँदोरहेछ भन्ने निष्कर्ष निकाल्दै दक्षिणी मकवानपुरस्थित हाँडीखोला गाविसका बासिन्दाले यो अभियान थालेका हुन् । अभियानलाई हाँडीखोलाबाट विश्वका विभिन्न मुलुकमा पुगेकाहरुले खुलेर सहयोग गरिरहेका छन् ।
हाँडीखोला घर भै हाल बेलायत बस्दै आएका चिरञ्जिवी ढकालको नेतृत्वमा मकवानपुर ओभरसिज नेर्टवर्क नै गठन गरी एम्बुलेन्सको लागि रकम संकलन गरिएको छ । ‘अहिले शुरुमा हामी एम्बुलेन्स खरिद गर्छौं ’ ढकालले भने, ‘र , हाँडीखोला क्षेत्रको शिक्षा , स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा हामी सदैब लागिरहन्छौं ।’
‘हेटौँडाबाट नजिकै रहेर पनि हाँडीखोला विकट गाविसकै रुपमा रहेको अवस्था छ,’ संयोजक ढकालले भने,‘नेपालकै हाँडीखोलामा मात्र लोपोन्मुख वनकरिया तथा चेपाङ समुदायको समेत बाक्लो बस्ती रहेकोले उनीहरुको स्वास्थ्य सेवामा थप पहुँच बढाउन पनि यस क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालन गर्नु आवश्यक छ ।’
एम्बुलेन्सको निम्ति प्रवासबाट अभियान थालिसकेको जानकारी दिँदै उनले केही महिनाभित्रै एम्बुलेन्स खरिद गरी हस्तान्तरण गर्ने योजना रहेको सुनाए ।
हाँडीखोलाको विकट गाउँबाट विरामी तथा सुत्केरी महिला हेटौँडासम्म ल्याउनको निम्ति ४ घण्टासम्म हिँडनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । यातायात तथा एम्बुलेन्स अभावका कारण वर्षेनी धेरैले अकालमै ज्यान गुमाइरहेका छन् । एम्बुलेन्स सञ्चालनको निम्ति हाँडीखोलाका युवाहरुको सकृयतामा एउटा समिति समेत निर्माण गरिएको छ । स्थानीय समाजसेवी अर्जुन पुडासैनीको अध्यक्षतामा गठित समितिको सचिवमा गणेशदर्पण अधिकारी र कोषाध्यक्षमा अनन्तप्रकाश अर्याल रहेका छन् ।
मकवानपुर ओभरसिज नेटवर्कका संयोजक ढकालकै अनुरोधमा समिति गठन गरिएको हो । ‘हाँडीखोलामा एउटा एम्बुलेन्स आवश्यक रहेको अवस्थामा प्रवासमा रहेका सहयोगीहरुले एम्बुलेन्स उपलब्ध गराउने पक्का भैसकेको छ,’ समिति अध्यक्ष पुडासैनी भने, ‘एम्बुलेन्सको संरक्षण एवम् सञ्चालनका लागि समिति गठन गरिएको हो ।’
एम्बुलेन्स खरिदका लागि सहयोग संकलन अभियानमा साउदीबाट हाँडीखोलाका अखिल पुडासैनी र सुदर्शन अधिकारी लागि परेका छन् भने अन्य मुलुकमा रहेका हाँडीखोलाका युवाहरुले समेत निकै सकृयता देखाइरहेको सचिब गणेश दर्पण अधिकारीले बताए ।
