भैललाई २५ हजार रुपियाको शैक्षिक पुरस्कार
उज्जवल शिशु निकेतन हेटौंडाले २०७१ को एसएलसीमा ८७ दशमलव १३ प्रशिशत नतिजा ल्याएका सुशान्त भैललाई २५ हजार रुपैंया राशीको स्वर्गीय गजेन्द्रबहादुर तुम्बाहाम्फे र पूर्णकुमारी तुम्बाहाम्फे शैक्षिक पुरस्कार प्रदान गरेको छ । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको उप निर्देशक श्रीकृष्ण घिमीरेले आज विद्यालयमा आयोजित कार्यक्रममा भैललाई नगद प्रदान गर्नुभयो । कार्यक्रममा एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने अन्य २४ जना विद्यार्थी र कम्प्युटर शिक्षक राजेश सुवेदीलाई पनि सम्मान गरिएको निकेतनका मावि संयोजक तुलाराम थापाले जानकारी दिए । विद्यालय व्यवस्थापन समतिका अध्यक्ष एवम् विद्यालयका संस्थापक प्रिन्सिपल डा. सम्राट तुम्बाहाम्फेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन मकवानपुर अध्यक्ष मदन दाहाल, राष्ट्रिय अभिभावक संघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, विद्यालयका प्रिन्सिपल टासीडोल्मा तुम्बाहाम्फे लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयले हरेक बर्ष स्वर्गीय गजेन्द्रबहादुर तुम्बाहाम्फे र पूर्णकुमारी तुम्बाहाम्फे शैक्षिक पुरस्कार प्रदान गर्नका लागि २ लाख ५० हजारको अक्षय कोष स्थापना गरेको हो । अक्षयकोषबाट बार्षिक रुपमा एक छात्र र एकजना छात्रालाई २५/२५ हजार रुपिया राशीको शैक्षिक पुरस्कार प्रदान गर्ने विद्यालयले जनाएको छ ।