एकहप्ते मैनबत्ती बनाउने तालिम सम्पन्न
हेटौंडा/मकवानपुर जिल्ला खेलकूद विकास समिति नमूना युवा सूचना केन्द्रको सहयोग तथा मकवानपुर महिला समूहको आयोजनामा सञ्चालन भएको एक हप्ते मैनबत्ती बनाउने तालिम समापन भएको छ ।
मकवानपुर महिला समूहकी अध्यक्ष ईश्वरी बानियाँको सभाध्यक्षता तथा जिल्ला खेलकूद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खेलकूद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहाल (खुसराज), प्रशिक्षक राधिका चौंलागाईं, समितिका सदस्य दिपेश घिमिरे, समूहकी सचिव कमला सुवेदी लगायतको उपस्थिति रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै सहभागीहरुले बजार व्यवस्थापनमा सहयोग भए आफूहरु मैनबत्ती उत्पादनमा लाग्ने बताए ।
उद्यमशील बन्न र त्यही अनुसार आफूलाई परिवर्तन गर्न सके तालिमको प्रभावकारिता देखिने भन्दै प्रमुख अतिथि तिमल्सिनाले तालिम सञ्चालन गर्ने संस्थालाई धन्यवाद ज्ञापन गरे । समापनका अवसरमा तालिममा सहभागी हेटौंडा, हाँडीखोला, चुरियामाई, कमाने, हटिया, बसामाडी लगायतका ३० जना सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । तालिममा विशेष गरी एच.आइ.भी प्रभावित तथा हिंसामा परेका महिलाहरु सहभागी भएका थिए ।