ठूलीमाया स्मृति ट्रष्ट स्थापना शुभारम्भ
शिव चौलागाईं/
मकवानपुर, फागुन १५/भूमीगतकालमा कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरुलाई आश्रय दिनुभएकी मकवानपुर फाखेलकी ठूलीमाया बलको स्मृतिमा ट्रष्ट स्थापना आरम्भ गरिएको छ ।
भूमीगत कालमा नख्खुजेलबाट भागेका नेताहरुलाई आफ्नो घरमा राखेर संरक्षण प्रदान गरेकी ठूलीमायाको स्मृतीमा स्थापना सुरु गरिएको ट्रष्टमार्फत देशकै उत्कृष्ट स्मारक निर्माण गर्ने योजना रहेको एमाले मकवानपुरको क्षेत्र नम्बर २ का अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । पार्टीमा लागेका नेताहरुलाई राज्यले समाउदै थुन्ने काम गरिरहेको त्यस बेलामा उहाँले दाउरा बेचेर नेताहरुलाई आफ्नो घरमा खान तथा बस्नको व्यवस्था मिलाउनुभएको थियो । ‘जनताको मुक्तिका लागि लडेकालाई राज्यबाट लुकाएर राख्ने साहरी आमाको नाममा ट्रष्ट स्थापना गर्न पाँउदा गौरव अनुभूती भएको छ । ’ एमाले दुई नम्बर क्षेत्रीय अध्यक्ष हुमागाईंले भन्नुभयो,‘ दिर्घकालीन रुपमा सरकारको समेत सहयोगले ट्रष्टबाट ऐतिहासिक कामहरु गर्ने लक्ष्य रहेको छ ।’ ट्रष्ट सुभारम्भका क्रममा विभिन्न दाताबाट आर्थिक सङ्कलनको काम समेत भएको छ । ट्रष्टका लागि एमाले नेताहरु विष्णुप्रसाद ढकालले ५१ हजार १ सय ५१, रामचन्द्र बलले २५ हजार, धिरज लामाले ११ हजार १ सय ११,विदुर हुमागाईले १० हजार, जीवन लामाले ५ हजार, धनवीर स्याङ्ताने ५ हजार ५ सय ५५, धनराज महर्जनले ५ हजार ५ सय ५५ र जयबहादुर डिम्डुङ्ले २ हजार ५ सय रुपिया उपलब्ध गराउनुभएको छ ।
तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले पार्टी आमाको नाम घोषणा गर्नुभएका ठूलीमायाको यहि २०७२ भदौमा निधन भएको हो । मकवानपुरको फाखेलमा आयोजित एक कार्यक्रममा ठूलीमाया स्मृति ट्रष्ट सुभारम्भ गरिएको हो ।