दिल्ली नाकाबन्दीले घेरियो
पानीदेखि दुध, तरकारीको हा–हाकार
नयाँ दिल्ली, ९ फागुन – भारतको राजधानी नयाँ दिल्ली अघोषित नाकाबन्दीको मारमा परेको छ । दिल्ली नजिकैको हरियाणा राज्यमा जारी ‘जाट आन्दोलन’ का कारण दिल्ली अघोषित नाकाबन्दीमा परेको हो ।

आइतबार जाट आन्दोलनकै कारण दिल्लीमा पानी आपूर्ति अवरुद्ध भएको छ । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पानीको हा–हाकार भएको जनाएका छन् । उनले हरियाणा राज्य सरकारलाई दिल्लीका लागि निर्वाध पानी आपूर्तिको व्यवस्था गर्न आग्रह समेत गरेका छन् ।
दिल्ली सरकारले राजधानीमा बढ्दो जलसंकटलाई ध्यानमा राख्दै सोमबार राजधानीका सबै विद्यालय बन्द गर्ने घोषणा गरेको छ । दिल्लीका उपमूख्यमन्त्री मनीष सिसोदियाले सोमबार सबै विद्यालय बन्द गर्न निर्देशन दिइएको जनाए । केही विद्यालयमा परीक्षा जारी रहे पनि पानी अभावका कारण सबै विद्यालय बन्द गर्न निर्देशन दिइएको दिल्ली सरकारले जनाएको छ ।
दिल्ली सरकारले आइतबार आपतकालिन बैठकमार्फत दिल्लीमा पानीको संकटबारे छलफल गरेको छ । मूख्यमन्त्री केजरीवालको निवासमा भएको बैठकमा राष्ट्रपति भवन, प्रधानमन्त्री आवास, सर्वोच्च अदालतका मूख्य न्यायाधीशको निवास, अस्पतालहरु, रक्षा संस्थानहरु, दिल्ली बारुणयन्त्र लगायतमा भने निर्वाध पानी आपूर्ति गर्ने निर्णय भएको छ । आम उपभोक्तालाई भने उपलब्ध पानीबाट समान हिसाबमा वितरण गरिने पनि बैठकले निर्णय गरेको छ ।
साथै दिल्ली सरकारले राजधानीबासीलाई पानीको खपत कम गर्न सुझाव पनि दिएको छ ।
जाट आन्दोलनकारीहरुले शनिबार दिल्लीतर्फ पानी आउने ‘मुनक नहर’ को ढोका बन्द गरिदिएका हुन् । सो नहरबाट प्रत्येक दिन हरियाणा हुँदै दिल्लीका लागि एक हजार ८५ क्यूसेक पानी सप्लाई हुँदै आएको छ । नहर बन्द हुँदा राजधानीको झण्डै ६० प्रतिशत क्षेत्रमा पेयजलको अभाव सिर्जना भएको बताइन्छ ।
जाट आन्दोलनकै कारण सवारी साधन अवरुद्ध हुँदा दिल्लीका लागि तरकारीको समेत अभाव भएको छ । त्यसैगरी दुध आयातसमेत अवरुद्ध भएको बताइएको छ । कृषिमा निर्भर हरियाणा राज्य राजधानी दिल्लीका लागि तरकारी र दुधको मूख्य स्रोत पनि हो ।