‘जनप्रतिनिधीझैं गाउँ–गाउँमा युवा अभियन्ता ’
शिव चौलागाईं, हेटौंडा ।
मकवानपुर भैसेकी पविना लामा केही बर्ष अघि सम्म गाउँ विकास समिती कार्यालयले गर्ने कामकारवाहीबारे बेखबर थिइन । स्था
नीय निकायले प्रदान गर्ने सेवा सुविधाबारे उनलाई खासै जिज्ञासा हुदैन थियो । स्थानीय क्षेत्रमा हुने विकास निर्माणका काममा ठूलाबडा अनि पाको उमेरका मान्छे लाग्नुपर्छ भन्ने उनको धारणा थियो । तर तीन बर्षकैबिचमा उनको यो धारणामा परिवर्तन आएको छ । अहिले उनी स्थानीय निकायबाट हुने कामकारवाहीबारे मात्र होइन गाविसदेखि जिल्ला हुदै केन्द्रसम्म योजनाको छनौट तथा तर्जुमा कसरी हुन्छ र कस्ता योजनाले प्राथमिकता पाउछन् भन्ने विषयमा जानकार छिन् ।
उनीमात्र होइन, हिमराइट्सको अभियानबाट प्रेरित मकवानपुरको विभिन्न गाविसमा रहेका ३ सय ७ जना युवा अभियन्ताहरु अहिले समाजका हरेक क्षेत्रमा आफ्नो सहभागिताबारे आवाज उठाउन सक्रिय छन् । सरिखेत ८ का सिङ्गराम तामाङ् समाजका विभिन्न योजना ठूलाबडाले मात्रै बनाउने भ्रम हटेको बताउछन् । भन्छन् –‘पहिला पहिला विकासे योजना ठूलाबडा, कोट लगाएका मान्छेले मात्रै बनाउछन् भन्ने लाग्थ्यो । तर योजना त हामी युवाहरुकै सहभागितामा बनाइदै रहेछ । तर चनाखो हुनु अवाश्यक छ ।’ उनी आफूलाई स्थानीय सामाजिक परिचालकका रुपमा चिनिन पाउँदा निकै खुसी लाग्ने बताउछन् । भैसैकी सुन्तलीमाया घलानले वडा नागरिक मञ्चको संयोजक भएर काम गर्न पाउँदा समाजले आफूलाई सामाजिक अभियन्ताकै रुपमा लिने गरेकाले युवामा साँच्चै शक्ति छ भन्ने लागेको बताउँछिन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको बसामाडी, पदमपोखरी, चुरियामाई, हटिया, हेटौंडा ८, थाहा नगरपालिकाको दामन, पालुङ्, बज्रबाराहीमा युवा सशक्तीकरण अभियानबाट युवा अभियन्ता तयार भएका हुन् । यस्तै, मकवानपुरको हाडीखोला, भीमफेदी, निबुवाटार, भैसे, आमभञ्ज्याङ्, छतिवन, धियाल, फापरबारी, बेतिनी, राइगाउँ, मार्खु, कुलेखानी, फाखेल, सिस्नेरी, मन्थली, बुढिचौर, सुकौरा, गढी, मनहरी र सरिखेतमा अभियान सञ्चालन गरिएको थियो ।
तीन चरण गरी सञ्चालन गरिएको अभियानले युवाहरु स्थानीय सहभागितामूलक योजना प्रक्रियाका बारेमा सचेत भएको हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक बुद्घ लामाले बताए । उनी भन्छन्,‘अभियानबाट युवाहरु सहभागितामूलक योजना प्रकृयाहरुमा उल्लेखनीय सहभागी भएर बार्षिक योजना प्रक्रियाहरुमा योजना पेश गर्ने, नागरिक मञ्चहरुमा रही योजना प्राथमिकीकरण गर्न सक्षम भएका छन् ।’ विकट ग्रामिण क्षेत्रका युवाहरु तालिम, गोष्ठि, नमूना युवा सांसद अभ्यास लगायत विभिन्न कार्यक्रममा सहभागी बनेर गाविसका सवाल तथा समस्याहरु सम्बन्धित सरोकारवाला समक्ष उठाउन सक्नु आफूहरुको परियोजनाको उपलब्धि भएको लामाको भनाई छ ।
युवा सशक्तीकरणका लागि सञ्चालित अभियानबाट गाउँ गाउँमा तयार युवा अभियन्ताले आफूहरुलाई काम गर्न सघाउ पुग्ने गरेको स्थानीय निकायका प्रतिनिधीको भनाई छ । ‘जनप्रतिनिधी नभइरहेको बेला स्थानीय निकायलाई खबरदारी गर्दै स्थानीय आवश्यकता सम्बोधन गाउँ गाउँका युवाले आफूलाई जनप्रतिनिकै रुपमा समाजमा चिनाइरहेका छन् ।’ गाविस सचिव हकहित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष समेत रहेका मकवानपुर गढी गाविसका सचिव टेकनाथ काफ्लेले बताए ।