हेटौंडा आइडल अडिसन १८ फागुनबाट

शिव चौलागाई, मकवानपुर ।
मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडाले आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हुने हेटौंडा आइडल चौथो प्रतिष्पर्धाका लागि भोली फागुनबाट पहिलो चरणको अडिसन हुने भएको छ । आइडलका लागि आवेदन दिएका ६२ जनाका बिचमा भोलीको अडिसनबाट २० जना छनौट गरिने आइडल व्यवस्थापन समितीका संयोजक दीपक शर्मा ढकालले जानकारी दिनुभयो । 
अडिसन भोली विहान ९ बजे मकवानपुर उद्योग वाणिज्य संघको हलमा हुने उहाँले बताउनुभयो । अडिसनबाट छानिएका २० जनामध्ये व्यापार मेलामा प्रस्तुत गायनकलाका आधारमा निर्णायकबाट पाँच जना छानिनेछन् । छानिएका उत्कृष्ट पाँचजनामध्ये दर्शकको भोट तथा निर्णायकको मूल्याङ्कनबाट हेटौंडा आइडल घोषणा हुनेछ । आइडलले बजाज कम्पनिका तर्फबाट पचास हजार रुपिया नगद तथा एल्बममा गीत गाउँने अवसर प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १० हजार तथा चौथो र पाँचौलाई ५\५ हजार रुपिया नगद प्रदान गरिने उद्योग वाणिज्य संघले जनाएको छ । आइडल प्रतिष्पर्धा लुकेर रहेको गायन क्षमता बाहिर ल्याउने अवसर बन्ने आफूहरुको विश्वास रहेको संघ अध्यक्ष राजकुमार न्यौपानेले बताउनुभयो । यहि फागुन २० गतेबाट हेटौंडाको हुप्रचौरमा लाग्ने मेला दश दिन जारी रहनेछ । मेलामा ४ सय भन्दा बढी स्टल रहनेछने भने हेलिकोप्टरबाट हेटौंडाको दृश्यावलोकनको व्यवस्था समेत यो पटक आकर्षणका रुपमा रहेको छ ।

All news in One Place