पूर्व सडक बालक भन्छन् ‘भविष्यका लागि पढ्नुपर्छ ।’
शिव चौलागाईं, हेटौंडा ।
पन्ध्र वर्षिय राजु अधिकारीले आफ्नो जीवनको आठ बर्ष सडकमा बिताए । मकवानपुर गढी कालीखोला घर भएका उनी बाबुआमाको घरायसी झगडाका कारण घर छाड्न विवश बने । रक्सी खाने बुबाका कारण घरमा दिनहुँजसो झैझगडा हुन थाल्यो । बालापनको बाल मस्तिष्कले उनलाई घरमा बस्न लागेन । त्यसैले कलिलै उमेरम उनी सडकमा आइपुगे । विभिन्न कारणले सडकमा आउनुपरेका उनीजस्ता धेरै साथीसंग उनको भेट भयो । कोही बाबुआमाको झगडा, कोहीको बाबुआमा नभएर हेरविचार गर्ने, कोहीको परिवारमा वास्ता नै नगर्ने भएकाले आफूजस्तै सडकमा आउनुपरेको उनले पाए । सडकमा बस्ने, सडकमै खाने अनि सडकमै सुत्ने उनको दैनिकी नै बन्यो । अहिले उनलाई कहाली लागेर आउँछ ति पूराना दिनहरु सम्झँदा ।
अहिले उनी सडक बालकलाई उद्घार गरिरहेको मामाघर नेपाल संस्था हेटौंडाको आश्रयमा रहेका छन् । त्यहाँ उनीजस्ता १७ जना साथीहरु संगै बस्दै आइरहेका छन् । विगतका दिनमा साथीभाईको लहैलहैमा लागेर बालापनमा चोरी गर्नु, रक्सी, चुरोट, डेनलाइन नामक नशालु पदार्थ सेवन गरी आनन्द लिनु आफ्नो दैनिकी बनेको उनी सम्झन्छन् । २०६८ सालदेखी उनी मामाघरको संरक्षणमा छन् । मामाघरका परिकल्पनाकार अर्पण पराजुलीले उनलाई हेटौंडा बसपार्कम भेटेका हुन् । जाडोको बेलामा पाउरोटी खाँदै गर्दाको अवस्थाका पराजुलीले देखेर खाजा खाने हो भनेर उनलाई सोध्दा उनले मोमो खाने बताएका थिए । उनीमार्फत अन्य २५–३० जना साथीलाई पनि बोलाएर संगै खाजा खुवाएपछि आफूहरु खुल्दै गएको उनले बताए । पराजुलीको ५२ दिने सडक बालकसंगको बसाइपछि सडक बालकहरुलाई संरक्षण गर्ने सोचले अहिले हेटौंडामा मामाघर नेपाल सञ्चालित छ । यो अभियान अहिले जिल्लामो नमूना लायक कामको रुपमा चर्चा पाइरहेको छ ।
मामाघरमा आएपछि राजुले अहिले आफ्नो भविष्यका विषयमा सोच्न थालेका छन् । बालापनमा गरिएका गलत कार्यप्रति उनलाई पश्चाताप छ । मामाघर मार्फत नै ४ कक्षासम्म औपचारिक रुपमा विद्यालय शिक्षा हासिल गरेका उनी पढाइलाई निरन्तरता दिन चाहान्छन् ।‘ मैले ८ बर्षसम्म सडकमा बिताए, लुटपाट चोरीमा संलग्न हुनुप¥यो । घर छाडेपछि बाँच्नैका लागि पनि अरुलाई लुट्नु मेरो बाध्यता थियो । तर अहिले साहारा पाएको छु । –उनी भन्छन्, ‘राम्रोसंग पढ्छु र भविष्य बनाउँछु ।’
सडकबाट आएका राजुलाई अहिले आफ्नो भविष्यप्रति चिन्ता छ । बाबुको मृत्यु भएको छ भने आमा अरुसंगै विवाह गरेर हिड्नुभएको छ । यतिबेला उनलाई गतिलो साहारा वास्तवमा मामाघर बनेको छ । हिजोका दिनमा आफूले गरेका गलत कामबाट नयाँ जीवन सिक्न अनि आफूजस्तै सडक बालबालिका भेटेमा आफूले साहारा पाएको मामाघरसम्म ल्याउने काममा राजुले सघाउने गरेको मामाघरका सचिव देवराज लामिछानेले बताए । उनले अरुको लहैलहैमा अनि घरमा बस्न लागेन भन्दैमा घर छाड्न नहुने कुरा आफूजस्तै बालबालिकालाई सम्झाउने गरेका छन् ।