मकवानपुरकी लक्ष्मी, नेतृत्वकी धनी
निरक्षरता, गरीबि र लैङ्घिङ्क विभेदको कारण सामाजिक पहिचानमा पछि पर्दै आएका मकवानपुरे महिलाहरु क्रमशः महिला सहकारीको माध्यमबाट समाज रुपान्तरणका नमूना हस्ती बन्न थालेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ स्थित महिला मिलन बचत तथा सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी थिङ यस्तै उदाहरणीय एक महिला हस्ती हुन् । उमेरले ४९ बसन्त पार गरेकी लक्ष्मीको बाल्यकाल घाँस दाउरा र मेलापात गरेरै बित्यो । अक्षर चिन्न नभ्याएकी लक्ष्मीलाई १४ वर्षकै उमेरमा उनका बुवा आमाले विवाह गरिदिए । विवाहपछिका दिनहरु उनले अभाव र गरीविसँग मात्रै लडिनन्, आँगनमा आइपुगेकी सौतासँग पनि लडिन् । वि.सं. २०५५ सालदेखि उनको गाउँमा समूह बचत कार्यक्रम सुरु भयो । बारीमा फलेको कोदो र मकैले ३ महिना पनि परिवार धान्दैनथ्यो । बचत समूहको अध्यक्ष पदमा चुनिएकी उनलाई उतिखेर समूहको अगुवाइ गर्ने जिम्मेवारी र महिनाको ५ रुपैँया जुटाउनु ढुंगो चपाए सरह थियो । उनी भन्छिन्–‘आफू ल्याप्चे, कालो अक्षर भैसी बराबरै थिए“ । सदस्य, अध्यक्ष भनेको कुन चरीको नाम हो ? थाहा थिएन । बैठकको दिन नजिकिदैँ जाँदा ५ रुपैँयाको चिन्ताले रातभरि पिरोलिन्थेँ ।’
विद्यालयलको चन्दा तिर्न नसक्दा छोराछोरी विद्यालय नगइ ढोकाको च्यापमा रूदैँ बसेका दिनहरु, ऐचोंपैंचो र सरसापट खोज्दै हिंड्दा हुने खानेले लगाएका नमीठा बचनहरु आज पनि उनलाई तीतो लाग्ने गर्छ । अभाव र गरीविका बलिद्र आँसू पिएकी उनी भन्छिन् ‘जेठो छोरो एस.एल.सी.मा थोरै अंकले विशिष्ट श्रेणी पुगेन भनेर रुदैँगर्दा म भने अब केको खर्चले छोरालाई क्याम्पस पढाउने होला ? भन्दै रोएँ ।’
समूहमा आवद्ध भएपछि लक्ष्मीले व्यावसायिक तरकारी खेतीको तालिम प्राप्त गरिन् । मकै, कोदो मात्रै फलाउँदै आएको बारीमा अदुवा खेती गरेपछि उनी नमूना कृषक नै बनिन् । समूहबाट ऋण लिएर बोका बाख्रा पालिन् । घरको आर्थिक अवस्था सुधारिदै जादाँ परिवारमा खुशी पनि छाउँदै गयो । अवस्था परिवर्तनबारे उनी भन्छिन्–‘परिवार मिलेर हामी आफैँले माटो मुछ्यौँ, काँचो इँटा बनायाँै, रातभरि पोल्यौँ, आफैँले गाह्रो लगायौँ र एकतले घर उभ्यायौँ । पहिला त झुप्रोको बास थियो । अहिले गाँस, बास र कपासको खाँचो छैन । छोराछोरीले पनि उच्च शिक्षा र रोजगारीमा प्रगती गरेर हौसला थपिदिएका छन् ।
वि.सं. २०५८ सालमा बचत समूहहरु महिला सहकारीतर्फ प्रवर्धन भएको थियो । ‘महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि.’ तत्कालिन समयमा गाविसकै पहिलो सहकारीको रुपमा स्थापित भयो । संस्थापक उपाध्यक्ष रहेकी लक्ष्मीले वि. सं. २०६२ सालदेखि एक कार्यकाल अध्यक्ष भएर नेतृत्व प्रदान गरिन् ।
सहकारीमा परिणत भएपछि भने लक्ष्मी लगायत सदस्य महिलाहरुले अधिकारमा आधारित थुप्रै सचेतनामूलक तालिमहरु प्राप्त गरे । फलस्वरुप घरेलु हिंसा, बहुविवाह, बाल हिंसा, बालिका बलात्कार, मानव बेचविखनविरुद्ध लक्ष्मीको नेतृत्व अझ सशक्त र प्रभावकारी बन्यो । उनी भन्छिन्–‘हामीले बाल अधिकारकर्मीहरुसँग समन्वय गरेर पीडकहरुलाई खबरदारी गर्दै हिड्यौँ । पीडित महिलाहरुलाई श्रीमानको आधा पेन्सन दिलाउने, बालबच्चाको पढाइखर्च भराउने काम ग¥यौँ । जाँड रक्सी खाएर उपद्रो बोल्दै हिड्ने अनुशासनहीन पुरुषलाई त हामीले सहकारीमा उभ्याएर गल्ती नदोहो¥याउने कागज गरी २ हजार ५ सय रुपैँया जरिवाना समेत गराएर छाड्यौं ।’ उनले अतित सम्झीन् ।
समाजका अन्याय, विकृतिहरु विरुद्ध लड्न आफूले अगुवाई गरेका सम्झनाहरुको फेहरिस्त पनि उनीसँग निकै लामो छ । गम्भीर बाल हिंसाहरु विरुद्ध गरेको अगुवाइबारे उनी थप्छिन्–‘धर्मपुत्र पाल्ने वहानामा गाउँकै एक महिलाले बालकलाई उधोमुन्टो झुण्ड्याएर तातो झिरले पाइतालामा घोचेर यातना दिने गरेको उजुरी सहकारीमा प¥यो । हामीले त्यस निर्दयी महिलाबाट पीडित बालकलाई छुटाएर जन्म दिने बुवाआमाको खोजी गरि जिम्मा समेत लगाइदियौँ । त्यस्तै एक १३ वर्षीय परियार थर गरेकी दलित बालिकामाथि भएको सामूहिक बलात्कारको घटनामा मानव अधिकारकर्मीहरुसँग समन्वय गरेर दोषीमाथि कारवाही गराउन रातभर डि.एस.पी. कार्यालय घेराउ ग¥यौँ । फलतः घट्नाका मतियारलाई ३ वर्ष कैद सजाय गराउन सफल भयौँ ।’ उनले पुराना कुरा सम्झिन् ।
गृहिणी शिक्षा संचालनमा ल्याएर लक्ष्मीले मकवानपुर जिल्लालाई चर्चाको शिखरमा पु¥याइन् । श्री महेन्द्र उच्च माध्यमिक विद्यालय, पदमपोखरीमा वि. सं. २०६४ को असार १ गतेदेखि गृहिणी शिक्षा सुरु भयो । उमेर र सिकाई क्षमताको आधारमा १६ देखि ७० वर्षसम्मका गृहिणीहरु कक्षा २ देखि कक्षा ८ सम्म भर्ना भए । पहिलो वर्ष नै ४ सय ७६ जना भर्ना भएका गृहिणीहरु अधिकांसले कक्षा ५ सम्म अध्ययन गरे । लक्ष्मी स्वयंले पनि कक्षा ४ मा भर्ना भएर कक्षा ७ सम्मको शिक्षा हाँसिल गरिन् । गृहिणी शिक्षाको पहिलो एस.एल.सी. ब्याच शैक्षिक सत्र २०६६/६७ मा नै २ जनाले एस.एल.सी.उर्तिण गरे । गृहिणी विद्यार्थीहरु गीता नेपाल र फूलमाया घलानले १२ कक्षासम्मको शैक्षिक स्तर उकासे ।
आफू ल्याप्चे भएर पनि गृहिणी शिक्षामार्फत् धेरै निरक्षर दिदीबहिनीहरुको शिक्षाप्रतिको अधुरो जिजिविसा पूरा गर्न सफल लक्ष्मीको योगदान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रेरक प्रसंग बन्यो । उनी भन्छिन् “हामी ‘साहसी महिला’ को रुपमा दरियौँ र सबैतिरबाट स्याबासी पनि पायौँ । संचार माध्यमहरुले गृहिणी विद्यार्थीहरुको त्यो विशाल उत्साह र मेरो कदमलाई नमूना कामको रूपमा प्रकाशमा ल्यायो । नेपाल टेलिभिजनले वृतचित्र बनाएर प्रसारण गरेपछि चारैतिरबाट प्रशंसाको ओइरो वर्षियो । गृहिणी शिक्षा देशका अन्य जिल्लाहरुमा पनि अनुशरण गरिएको समाचारहरु सुन्दा आफ्नो जीवन अरुका लागि पनि काम लागेको महसूस गरेँ ।’ वि.सं.२०६७ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघद्धारा महिला मिलन सहकारीले देशभरिमध्येबाट उत्कृष्ट सहकारी पुरस्कार प्राप्त ग¥यो । त्यसैगरि राष्ट्रिय सहकारी संघ नेपालद्वारा उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार २०६९ ले पनि पुरस्कृत भयो । महिला मिलनलाई राष्ट्रिय स्तरको पुरस्कार दिलाउन सक्षम लक्ष्मीको प्रभावकारी नेतृत्वले महिला अधिकारका सवालमा अन्य थुप्रै कदर, सम्मानहरु प्राप्त गरेको छ । जिल्लाका अगुवा अधिकारवादी संघसंस्थाहरुमा आवद्ध रहँदै आएकी लक्ष्मीलाई यी सबै जिम्मेवारी प्राप्त हुनु आफैँमा महिला सशक्तीकरणको सूचक हो भन्ने लाग्छ ।
अतः सुरुका दिनहरुमा मासिक ५ रुपैँया बचत गर्न धौधौ पर्ने तिनै महिलाहरु आज सहकारी र शैक्षिक संस्था दुबैको मालिक भएका छन् । विगतको तुलनामा हिजोआज समाजमा महिला हिंसा, बेचविखनमा कमी आएको छ भने समविकास र लङ्घिङ्गक सचेतनामा काफी सुधार आएको । यसरी समाज रुपान्तरणको हरेक पाटोमा महिला सहकारी महिला सशक्तीकरणको आधारशिला बन्दै गएको छ ।
(-लक्ष्मीसंगको कुराकानीमा आधारित)