तेल खाने फुलौरा
एक माघले जाडो जाँदैन । यो सबैलाई पत्तो भकै कुरो हो । एक माघले नगएपछि अर्को माघ कुर्ने ट्वामेको बानी छ । त्यसैले यसपालीको माघमा ट्वामे आफ्नो साथीसंगी बटुलेर खुब रमाइलो गर्ने तरखरमा छ । किनभने अर्को माघ आएपनि त्यो २०७२ सालको भएर आउँदैन, त्यो त २०७३ को माघ पो हुन्छ त ! त्यसैले गर्दा पनि ट्वामे यो माघलाई थप विशेष माघको रुपमा लिएर बसिरहेको छ । माघ न हो, जाडो भइहाल्ने भो । फेरी कुन्नि के भन्या जस्तो महिनेपिच्छे १ गते संक्रान्ती पर्छ । मंसिरे, पुसे संक्रान्तिको खासै महत्व नहुने भए पनि माघे संक्रान्तिको महत्व ट्वामेले बुझेकै छ ।
संक्रान्ती १ गते परेकोले यो वर्षको माघ संक्रान्ती असाध्यै रमालो हुने भो भन्ने सोचमा ट्वामे बसेको थियो । संक्रान्तीलाई ट्वामेले निकै महत्वका साथ मनाउने योजना बनायो । उसले आफ्नो घरका परिवारलाई पनि सन्क्रान्तीको जोरजाम गर्न भन्यो । माघे संक्रान्ती भएपछि के–के खानुपर्छ त्यो तपैलाई नि थाहा भकै कुरा हो । जाडो भगाउन ट्वामेले बजारमा दाबिलोले घोची–घोची दाएको चाकु, काली भैसीको घिऊ खाने योजना बनायो । त्यत्ती मात्र हैन बारीको पाटामा गुन्द्री ओछ्याएर मस्मस्सी तेल पनि लगाउने योजना बनायो । यो तेल भन्ने वित्तिकै मसन्ताको याद आयो । ‘पुसमा पाकी माघमा जाकी’ भन्ने उखान सुनेको ट्वामे पुसको मसन्ताको दिन संक्रान्तीमा खानको लागि तेल जोहो गरेर रोटी पकाउन बस्यो । ट्वामेकी बुढिले पिठो मुछेर ठीक्क पारिन् । गफ गर्दै सेल पकाउन थाले । नाङ्लामा चाङ सेल पकाए । २ पोका तेलले सप्पै रोटी पाक्यो । थोरै तेलले पाकेपछि दुवै खुशी भए । सेलरोटी पाकेपछि ट्वामेकी बुढी पोक्चीलाई फुलौराको तिर्सना लाग्या कुरा बुढालाई सुनाउन थालिन् । हुन पनि हो, माघे संक्रान्तीमा फुलौरा खान पर्छ पनि भन्छन् । त्यसैले फापरको पिठो जोहो गरेर पोक्ची फुलौरा पकाउन बसी । ट्वामे आगो ठेल्न थाल्यो । पाँचौटा नपाक्दै एकपोका तेल खत्तम । लौ फसाद् ! सेल जस्तो फुलौरा नहुने रैछ । यस्ले त तेल धेरै खाँदो रैछ । ‘कन्दमूल न हो, यसले यस्तै तेल खान्छ’–पोक्चीले भनी । ट्वामेलै झिर तेस्राउँदै थपी–‘यो फापर भनेको त कु अन्न हो नि ।’ त्यसैले पनि तेल बढि खानू स्वभाविकै हो । यस्तै–यस्तै कुरा गर्दा गर्दै अर्को पोका तेल पनि फुलौराले खत्तम पा¥यो । एवं रितले फुलौराले पाँच पाकेट तेल खायो । ट्वामे त्यसपछि सन्कीन थाल्यो । कस्तो फलौरा यो ? खाली तेल खानी अगुल्टो उचालेर ताइमाथि लम्की–झम्की गर्न थाल्यो । पोक्ची साह्रै सहनशील थिइन । नरिसाउनु न विचरा यो ताइको के दोष । ताइमा त अलि अलि टाँसिने न हो । खाने त फुलौरा नै हो नि । ट्वामे बुढिसंग पनि ठुस्स प¥यो । दुवै मिलेर फुलौरा थन्क्याएर सुते । विहान उठ्ने बित्तिकै ट्वामेले बजाराँ हल्ला सुन्यो । तेल बाँड्ने रे । झस्किदै ट्वामेले तेल खाने फुलौरा सम्झ्यो । तेल शनिबार बाँड्ने रैछ । त्यसैले भोलीपल्ट विदाको दिन आफ्नो थोत्रो मोटरसाइकल ट्वार्रर्ररर पार्दै तेलको लाइन बस्न ट्वामे थानाबजार पुग्यो ।