पैंचो पनि पाइँदैन पानी
मकवानपुर/घर नजिकै धारा छैन । कुवा जति सबै सुकेका छन् । बर्खामा बलेसीको तप्केनीले भरेको घैटो रित्तिइ सके । गाउँमा अन्न भन्दा बढी पानी पैंचो गर्ने प्रचलन बढेको छ । ‘अहिले त पैंचो पनि पाइन छाड्यो, किन की गाउँमै पानी छैन’ स्थानीय रोशनी तामाङले भनिन् ।
यो समस्या मकवानपुरको फाखेल गाविस वडा नंबर ५ का बासिन्दाको हो
। गत वर्ष १२ वैशाखको भूकम्पले गाउँमा खानेपानीको सबै मुहान सुके । त्यसो त चैतबैशाखमा गाउँमा पानीको हाहाकार अघि पनि हुन्थ्यो । तर यसपाली तिहारलगत्तै मुहान सु्के ।
जिल्लाको उत्तरी ग्रामिण क्षेत्र फाखेल आसपासमा भदौ महिना यता पानी परेको छैन । ५ नम्बर वडाको सबै खानेपानी मुहान सुकेपछि कोदोखोरियाका बासिन्दालाई आजभोलि डेढ घन्टा तल भागे खोल्सीमा पुग्नु पर्ने बाध्यता छ । खोल्सामा पुगेपछि घण्टौं लाइन बस्नुपर्छ । बिहान पानी लिन गए दिउँसो आइपुगिन्छ । भोक टार्न सँगै खाजा पनि लिएर जाने गरेको स्थानीय बताउँछन् ।
कोदो खोरियाका बासिन्दा घरमा पानी सकिएपछि पैचो लिन्छन् । ‘गाउँमा बरु खाना पकाउने ग्यास पाइन्छ, पानी पाइंदैन’ भन्छिन् अर्की महिला सन्तमाया तामाङ । कोही पाहुना आइहाले चिया बनाउन पानी हुँदैन । अनि जग बोकेर छिमेकतिर पैंचो खोज्न थाल्छन् ।
पानीको अभाव भएपछि कोदोखोरियाका बासिन्दा पशुवस्तु बेच्न थालेका छन् । ‘वस्तुभाउलाई कुँडो पानी गर्न गाह्रो छ, नबेचेर के गर्नु ?’ तामाङले भनिन् ।
रोजगारीका क्रममा श्रीमान् साउदीमा रहेकी तामाङले भनिन्, ‘पानी ओसार्दै दिन बित्छ । बाँकी खेतीपातीको काम ।’ गाग्रोभरी पानी भएको दिन आनन्द लाग्ने उनी बताउँछिन् । तीन सन्तानकी आमा उनलाई खानेपानीको जोहो गर्न असाध्यै मुस्किल छ । कुनै दिन पानी ल्याउन नभ्याउँदा पैंचो पनि नपाएर भातै नखाइ सुतेको उनले सुनाइन् ।
गैरसरकारी संस्थाको सहयोगमा पाँच वर्षअघि निर्माण गरिएको सिमेन्टको घैंटोमा वर्षाको पानी संकलन गरेर स्थानीयले प्रयोग गर्दै आएका थिए । खानेपानीको मुहान सुकेपछि ५ नम्बर वडाको एक सय ४०, ६ नम्बर वडाको एक सय २० र ७ नम्बर वडाको एक सय ७५ परिवारले पाँच नम्बर वडास्थित भागेमा रहेको मुहानबाट पानी खाइरहेका छन् ।
गाउँमा पानीको हाहाकार भएपछि स्थानीय त्राहीत्राही भएको गाविस सचिव राजकुमार सुवेदीले बताए ।
तस्विर: पुस्कल गाेले/फाखेल