नगरकप फुटबलको तयारी तिब्र
धर्मेन्द्र दाहाल।
हेटौँडा/मकवानपुरकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता ‘नगर कप’ फुटबलको दोश्रो संस्करणको तयारी तिब्र ढंगले अघि बढेको छ । प्रतियोगितको आरम्भ हुन केहि दिनमात्र बाँकी रहेको अवस्थामा अहिले प्रत्येक वडाहरुमा तयारीले विशेष रुप लिदै गएको पाईएको छ । तात्कालिन हेटौँडा नगरपालिकाको ११ वडा तथा विस्तारीत हेटौँडा उपहमहानगरपालिकाको ५ वटा संयुक्त वडा कार्यालय सहित १६ वटा टिमको सहभागिता रहने प्रतियोगिता यस वर्ष उपहानगर बनेपछि थप रोमाञ्चक हुने आयोजकले दावि गरेको छ ।
जिल्ला खेलकुद विकास समिती मकवानपुर तथा हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिती अध्यक्ष माधव तिमल्सिनाले बताए । हेटौँडा ५ मा रहेको क्याम्प डाँडाको फुटबल खेल मैदानमा हुने प्रतियोगिताको लागि चौरलाई तयार गर्ने काम अहिले तिब्र गतिमा भैरहेको उनले बताए । ८ लाख रुपैँया खर्च हुने अनुमान गरिएको प्रतियोगिताले हेटौँडाबाट नयाँ तथा स्तरीय फुटबल खेलाडीहरु उत्पादनमा थप सहयोग मिल्ने उनको भनाई रहेको छ ।
बैशाख २४ बाट हुने फुटबल प्रतियोगितामा आफ्नो वडाको खेललाई उत्कृष्ट बनाउन यतिबेला वडा वडामा खेलाडी छनौट तथा प्रशिक्षण भैरहेका छन् । पूर्वी हेटौँडाको हर्नामाडी संयुक्त वडा कार्यालय, हटिया संयुक्त वडा कार्यालय तथा चुरीयामाई संयुक्त वडा कार्यालयले खेलाडी छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । यो वर्ष मात्र नगरपालिकाभित्र परेको वडाहरुमा नगरकपको थप उत्साह रहेको पाईएको छ ।
नगरकपको तयारीको विषयमा जानकारी दिँदै हाल हर्नामाडी संयुक्त वडा कार्यालयको फुटबल प्रशिक्षण दिइरहेका सुविन घिमिरेले तयारी निकै राम्रो रहेको बताए । विकासखबरलाई प्रतिक्रिया दिँदै घिमिरेले नगरपालिकाको ग्रामिण भेग रहेको भएपनि फुटबलको उत्साहा निकै रहेको बताए । वडा नं ५ को पनि प्रशिक्षण गरीरहेका घिमिरेले नगरकपलाई स्थानीय खेलाडीहरुले अवसरको रुपमा लिए अवस्य उचाईमा पुग्न मदत मिल्ने बताए । उता नगरकपको तयारीको विषयमा जानकारी दिदै वडा नंबर ४ का प्रशिक्षक विमल श्रेष्ठ‘टानेी’ले तयारी तिब्र ढंगले अघि बढेको बता
ए । उनले भने ‘तयारी निकै उत्साहापूर्वक चलिरहेको छ । ’ उता हेटौँडा १० का प्रशिक्षक राजु विष्ट पनि तयारी तिब्र भएको बताउछन् । यो वर्ष उपाधि जित्ने उदेश्यले कडा तयारी गरेको उनको भनाई रहेको छ ।
नगरकपको तयारीको लागि अहिले वडा/वडामा ‘फ्रेन्डली’ म्याच पनि सुरु भैसकेकोले पुन हेटौँडामा एक पटक फुटबलको माहौल आएको छ । केहि दिन अघिमात्र एनफा जिल्ला लिग फुटबल सम्पन्न भएकोले सेलाईनसकेको फुटबललाई नगरकपले पुन तताउने खेल विश्लेषकहरुको दाबी रहेको छ । यो वर्षपनि नगरकपको लागि हेटौँडा स्कुल अफ म्यानेजमेन्टले विजेता तथा उपविजेताको लागि नगद १ लाख र ५० हजार पुरस्कारको प्रायोजन गरेको छ ।