हेटौंडा उपमहानगरपालिकाको ७ नं. वडा निकृष्ट बालश्रम मुक्त वडा घोषणा



नविन तिमल्सिना
हेटौंडा/हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त वडा घोषणा गर्ने अभियान अन्तर्गत ७ नं. वडालाई निकृष्ट बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका कार्यालयले शनिवार बालश्रम मुक्त वडा घोषणा कार्यक्रम गर्दै ७ नं. वडालाई निकृष्ट बालश्रम मुक्त वडा घोषणा गरिएको हो । उपमहानगरपालिकालाई सन् २०१६ को अन्त्यसम्म निकृष्ट बालश्रम घोषणा गर्ने नीति तथा रणनैतिक योजना अनुरुप शनिवार ७ नं. लाई बालश्रम मुक्त वडा घेषणा गरिएको हो ।   कार्यालयले यसअघि हेटौंडा–११ र ९ लाई निकृष्ट बालश्रम मुक्त वडा घोषण गरिसकेको छ ।

संविधानसभा सदस्य अनन्त प्रसाद पौडेलले बालश्रम विरुद्धको सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गर्दै ७ नं. वडालाई निकृष्ट बालश्रम मुक्त घोषणा गरेका छन् ।

हेउमनपाको सन् २०१६ को अन्त्यसम्म निकृष्ट बालश्रम घोषणा गर्ने नीति तथा रणनैतिक योजनामा प्लान इन्टरनेशनल र बाल कल्याण समाजले निकृष्ट बालश्रम न्यूनिकरण परियेजना (होप) संचालन गरिरहेको छ । होपले सन् २००८ देखि बालश्रम मुक्त वडा बनाउन विभिन्न टोलमा सचेतना कार्यक्रम, नियमित अनुगमन, बाल श्रमिकका लागि छात्रवृति सहयोग, वैकल्पिक शिक्षा, आयआर्जन कार्यक्रम, सीपमुलक तालिमलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

७ नं.लाई बालश्रम मुक्त वडा घोषणा गर्न स्थानीयस्तरबाट विद्यालय, टोल विकास संस्थामा अवधारणा बनाएर टोलटोललाई बालश्रम मुक्त गरिएको बालकल्याण समाजका संयोजक प्रकाश खवितडाले जानकारी दिए । ७ नं. का १३ टोल विकास संस्था, वडा नागरिक मञ्च, हरियाली र स्मृति सचेतना केन्द, नवज्योति मावि र तासिर बोर्डिङ स्कूल, सृजना, हेटौंडा, हातेमालो बचत तथा ऋण सहकारी, वनदेवि दुग्द्य उत्पादक सहकारी संस्था, नगर स्वास्थ्य केन्द्र, ७ नं. खानेपानी उपभोक्ता समिति, राधाकृष्ण तथा वनदेवि मन्दिर संरक्षण समिति, बालक्लब तथा युवा क्लबले बालश्रम मुक्त बनाउन सामूहिक प्रतिबद्धता जनाएका छन् ।

घोषणा गर्नुअघि श्रम कार्यालयको अगुवाईमा हेटौंडा उपमहानगरपालिका, जिल्ला विकास समिति, जिल्ला बालकल्याण समिति बालकल्याण समाज, प्लान इन्टरनेशनल, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघबाट संयुक्त अनुगमन गरी बालश्रम नभएको निष्कर्ष निकालिएको थियो । ७ नं. वडा नागरिक मञ्च संयोजक राजन थापाको सभाध्यक्षता भएको घोषणा कार्यक्रममा संविधानसभा सदस्य पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

   घोषणा गर्दै पौडेलले बालश्रमलाई निरुत्साहित गर्न सबै निकाय लाग्नु पर्ने बताए । बालश्रमले राज्य, समुदाय र व्यक्ति स्वयमलाई फाइदा नपुग्ने धारणा राखेका छन् । कार्यक्रममा नगर प्रमुख सुदेव पोखरेल, नेपाली कांग्रेसका दामोदर गौतम, नेकपा एमालेका गोपाल श्रेष्ठ, नयाँ शक्ति नेपालका नगर इञ्चार्ज डिवी थापा, हेउमनपा सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, प्लान इन्टरनेशनल नेपाल मकवानपुरका राम खत्री, ७ नं. वडा सचिव केदार दहाल, नवज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय बस्नेतलगायतको आतिथ्यता रहेको थियो 

  स्थानीय टोल विकास संस्था, वडा नागरिक मञ्च, सचेतना केन्द्र, विद्यालय, सहकारी र संघसंस्थाहरु आफ्ना ब्यानरसहित घोषणा -यालीमा सहभागी भएका थिए । 

All news in One Place