‘बरु मलाई पनि जलाइदिनोस्’
‘मेरो कोही छैन, म एक्लै हुँ, बरु मलाई पनि जलाइदिनोस्’ ५२ वर्षीय साइलीमाया भोम्जनले रुँदै भनिन् । तर, उपस्थित कसैले सुनेनन् । सरकार, राजनीतिक दल र स्थानीयले नै उनको झुपडी आगो लगाएर ध्वस्त पारिदिए ।
जिल्ला वन कार्यालय, स्थानीय राजनीतिक दल, उजेली क्षेत्र संरक्षण तथा विकास समिति र स्थानीयवासीले क्षणभरमै बस्ती खाली गराए । साइलीमायाजस्ता सयबढी नागरिकको भागाभाग भयो । ‘अवैध’ भन्दै करिब एक वर्षदेखि हेटौंडा–११ नवलपुरस्थित उजेली क्षेत्रमा बसोबास गर्दै आएका ३६ परिवारलाई हटाइएको हो । उनीहरू हेटौंडा नवलपुर झोलुंगे पुलबाट पश्चिमी क्षेत्रको करिब ३० हेक्टर खुला जग्गा अतिक्रमण गरी बसेका थिए ।
झुपडी जल्नुअघि साइलीमाया आफ्नो खुट्टामा घाउ भएको र केही काम गर्न पनि नसक्ने भनेर रुँदै थिइन् । मजदुरी गरेर दैनिकी चलाउँदै आएकी उनी घर जल्नुअघि नै सबै सामान छाडेर हिँडिन् । काठमाडौंमा चिया पसल राखेर दैनिकी चलाउँदै आएकी साइलीमाया गत वर्षको १२ वैशाखमा गएको भूकम्पपछि उजेली क्षेत्रमा झुप्रो बनाएर बसेकी थिइन् ।
जिल्ला वन कार्यालय मकवानपुरका निमित्त कार्यालय प्रमुख उत्तम कटुवाल र उजेली क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष शिवबहादुर भण्डारीको नेतृत्वमा पुगेको टोलीले बस्तीमा आगजनी गरेको थियो । टोलीमा करिब १ सय जना सहभागी थिए । घरमा भएका सामान निकालेर आगजनी गरेको उजेली समितिका अध्यक्ष भण्डारीले बताए ।
घरमा आगजनी भएसँगै कतिपयले आफ्ना सामान लिएर सो स्थान छाडेका थिए । कतिपयले भने आफ्ना सामानै छाडेर हिँडेको प्रत्यक्षदर्शीले बताए ।
‘हामीले धेरैपटक सो क्षेत्र खाली गर्नका लागि आग्रह गर्दै आएका थियौं । हाम्रो आग्रहलाई अटेर गरेर बस्दै आएका परिचय नखुलेकालाई स्थानीवासी, राजनीतिक दल र सरोकार समितिले सो क्षेत्रबाट हटाउने निर्णय गरेसँगै जिल्ला वन र स्थानीय प्रहरीको सहयोगबाट हटाएका हौं,’ उजेली क्षेत्र संरक्षण तथा विकास समिति अध्यक्ष शिवबहादुर भण्डारीले भने ।
अध्यक्ष भण्डारीका अनुसार उनीहरू वास्तविक सुकुम्वासी नभएको पाइएपछि सर्वपक्षीय भेलाबाट उनीहरूलाई सो स्थानबाट हटाउन सहमत भएको हो ।
‘उनीहरूलाई हामीले वास्तविक भूमिहीन सुकुम्वासी भएको प्रमाणित भएका खण्डमा सम्बन्धित पक्षसँग छलफल गरेर निर्णय गर्छौं भनेका थियौं । तर, उनीहरूलाई धेरै आग्रह गर्दा पनि जग्गा अतिक्रमण गर्ने नियत प्रष्टरूपमा देखिएपछि हटाइएको हो,’ भण्डारीले भने । ऐलानी र पर्ती जग्गा वनको हुने व्यवस्था भएकाले जिल्ला वनको साहारामा बस्ती हटइएको उनले बताए ।
स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा बसोबास गर्ने अधिकांश मकवानपुरकै पूर्वीक्षेत्रका हुन् । प्रायः २०५० सालको बाढीपीडित हुन् ।
‘आगजनी गर्नेलाई कारबाही गर’
एकीकृत माओवादीनिकट अखिल नेपाल सुकुम्बासी संघ मकवानपुर र नेपाल बसोबास संरक्षण समाज मकवानपुरले हेटांैडा–११ उज्यालो बस्तीमा आगजनी गर्नेमाथि कारबाही गर्न माग गरेका छन् ।
उनीहरूले विज्ञप्ति जारी गर्दै नेपालमा संविधान घोषणासँगै कार्यान्वयनको चरणमा रहेको अवस्थामा जनताको बसोबास गर्न पाउने मौलिक अधिकारको हनन् भएको
जनाएका छन् ।
संघ अध्यक्ष रामलाल विश्वकर्मा र समाज अध्यक्ष कमलचन्द्र सुमनद्वारा हस्ताक्षरित विज्ञप्तिमा वन क्षेत्रको जग्गा अतिक्रमण गरी गैरसुकुम्वासी आएर बसेको भन्ने कुराको तथ्यगत छानबिन नै नगरी बस्ती आगजनी गरी उठीवास लगाउनुलाई मानवअधिकारको उल्लंघनको संज्ञा दिइएको छ ।