मकवानपुर रिकभरीको शाखा कार्यालय उद्घाटन
हेटौँडा/लागुपदार्थ तथा मादकपदार्थ दूव्र्यशनीको उपचार तथा पुनस्र्थापनाको कार्य गर्दै आइरहेको मकवानपुर रिकभरी समूहको बुधबार हेटौँडा–९ सिमेन्टरोडमा शाखा कार्यालय उद्घाटन गरिएको छ । बुधबार मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै उनले लागू पदार्थ सेवन गर्नेहरु समाजबाट अपहेलित हुने गरेको बताउँदै अभिभावकको कमजोरीले गर्दा उनीहरुको कुलतमा फस्ने गरेको धारणा राखे । उनीहरुका लागि प्रोत्साहनसँगै पुनर्वासको पनि जरुरी रहेकोमा उनको जोड थियो । जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले कला संस्कृतिको नाममा लागुपदार्थ तथा मादकपदार्थ समेत प्रयोग गर्दै आइरहेकोले गर्दा समाज पछाडि परेको जिकिर गरे । शिवरात्रीतर्फ इंगित गर्दै उनले संस्कृतिको नाममा यस्तो प्रचलन अन्त्य नभएसम्म दुव्र्यसनी नघट्ने दावी गरे । कार्यक्रममा लागुपदार्थको निराकरण, नियन्त्रण,नियमन गर्न प्रहरी लागि परिरहेको बताउँदै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरक्षिक मिरा चौधरीले जिल्लामा पुरुषसँगै महिला दूव्र्यशनीको संख्या पनि वृद्धि भएको बताइन् । उनले यस्ता कुलतमा लागेका व्यक्तिहरुलाई सुधार केन्द्रमा पठाउन आवश्यक रहेको धारणा राखिन् ।
मकवानपुर रिकभरिङ समुहका अध्यक्ष दिपु तामाङको सभाध्यक्षतमा भएको कार्यक्रममा कार्यक्रममा शाखा कार्यालयका कार्यक्रम संयोजक सौजन डिसीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा समाजसेवी अजित राई मामाघर नेपालका अर्पण पराजुली, विजामका तपेन्द्र शाही लगायतले शाखाको निरन्तरता र प्रभावकारिताको शुभकामना दिएका थिए ।
