मनोविमर्शका लागि तालिम



थाहानगर/ भूकम्पपछिको मनोसामाजिक समस्या न्यूनीकरणका लागि बाल कल्याण समाजले तीन दिने तालिम संचालन गरेको छ । टियरफण्डको सहयोगमा आग्रा र टिस्टुङका सामुदायिक परिचालकहरुलाई तालिम दिइएको हो । 

मंगलबारबाट थाहानगरमा शुरु भएको तालिममा दुई गाविसमा क्रियाशील ९ जना सामुदायिक परिचालकहरु सहभागी थिए । 

सहभागीहरुलाई टिपिओ नेपालकी रुपा गुरुङले सहजीकरण गरेकी थिइन् । त्यस्तै टियर फण्डका संरक्षण सल्लाहकार क्रिस्टिना निसा, संरक्षण संयोजक उर्मिला उपाध्याय, बाल कल्याण समाजका जिल्लाकार्यक्रम संयोजक प्रकश खतिवडा, परियोजना संयोजक कुमार नेगी, सुपरभाइजर उमा कार्की लगायतले सहजीकरण  गरेका थिए ।

तालिममा सहभागीहरुलाई मनोसामाजिक समस्या, परामर्श तरिका र आफ्नो भूमिकाको बारेमा ज्ञान, सीप र अवधारणा दिइएको थियो । तालिमपछि उनीहरुले समुदायमा मनोसामाजिक समस्या पहिचान गरी र समस्याग्रस्त व्यक्तिहरुलाई आवश्यकताअनुसार विभिन्न निकायमा  प्रेषण गर्ने परियोजना संयोजक नेगीले जानकारी दिए । 

बाल कल्याण समाजले एक वर्ष भित्रमा आग्रा र टिस्टुङ गाविसका करीब एक तिहाइ जनसंख्यालाई मनोसामाजिक परामर्श सेवा दिने गरी परियोजना संचालन गरिरहेको छ । परियोजनाअन्तर्गत दुबै गाविसमा शिक्षा, संरक्षण र पोषणका कार्यक्रमहरु संचालन गरेको संस्थाका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । 

All news in One Place