कोमल वली र सुगमले तताए मनहरी

मनहरी–मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्ष सञ्चालनका लागि मनहरीमा बृहद् सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । 
मनहरी युथ भिजनको आयोजनामा भएको बृहद् सांस्कृतिक कार्यक्रममा चर्चित गायिका कोमल वली, सुगम पोखरेल, लोक गायिका अनिता चलाउने र रामजी भट्टराई तथा हाँस्य कलाकारहरु देवीराम पराजुली (भोक लाग्यो) र शिवहरि बैरागी (पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको) ले प्रस्तुति दिएका थिए । 
मनहरीस्थित राष्ट्रिय रोटरी उच्च माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रमलाई सशुल्क बनाइएको थियो । सशुल्क टिकट काटेर आयोजित कार्यक्रम हेर्नका लागि मनहरी, हाँडीखोला, सरिखेत, राक्सिराङ तथा चितवन जिल्लाबाट समेत दर्शकहरु सहभागी भएको युथ भिजनका महासचिव नवीन सुवेदीले बताए । 
कार्यक्रममा गायिका कोमल ओलीले चर्चित लोकगीत बाँझो खेतमा सहित अन्य थुप्रै गीतहरुका गाएकी थिइन् । उनले गीत गाउँदा युवा र तन्नेरीहरु उफ्रि उफ्रि नाचिरहेका थिए भने सुगम पोखरेलले म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस् बोलको गीत गाउँदा दर्शकहरुले उनलाई साथ दिएका थिए । कलाकारहरु शिवहरि बैरागी र देवीराम पराजुलीले प्रहरीको कामकारबाहीलाई लक्षि गरी तयार पारेको प्रहसन प्रस्तुत गर्दा दर्शकहरु पेट मिची मिची हाँसेका थिए । 

All news in One Place