स्वर्गिय केशवलाल श्रेष्ठको स्मृतिमा जिल्ला स्तरीय भलिबल सुरु: युग प्रकाश र छतिवनको विजयी सुरुवात
हेटौँडा/नेपाली राष्ट्रिय भलिवलका प्रमुख प्रशिक्षक तथा पूर्व राष्ट्रिय भलिवल खेलाडी स्वर्गिय केशबलाल श्रेष्ठको गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि ज्यान गएको पहिलो वार्षिक पूण्य तिथीको अवसरमा हेटौँडामा जिल्ला स्तरीय भलिवन प्रतियोगिताको सुरुवात भएको छ । स्वार्गिय श्रेष्ठकै स्मृतिमा स्थापना गरिएको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा सोमबार हेटौँडाको लोकतान्त्रिक हुप्र चौरमा भएको खेलहरुमा हेटौँडा ११ को युग प्रकाश युवा क्लब तथा छतिवनको छतिवन खेलकुद विकास समितीले विजयी सुरुवात गरेको छ ।
सोमबार भएको उद्घाटन खेलमा यूग प्रकाश क्लब नवलपुरले हटिया स्र्पोटस् एकेडेमीलाई २–० को सोझो सेटमा पराजित गरेको छ । सोझो सेटमा पराजित गर्ने क्रममा नवलपुरले हटियालाई २५–२१ र २५–२२ को स्कोर बनाएको थियो । हटियाको खेलाडीहरु ‘फिनीसिङ’मा चुकेपछि नवलपुरले सहज विजय प्राप्त गरेको हो ।
सोमबारनै भएको दोश्रो खेलमा पहिलो सेट गुमाईसकेको अवस्थालाई उल्ट्याउदै छतिवन खेलकुद विकास समितीले सुकौराको नागरिक सचेत समाजलाई २–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१८ ले गुमाएको अवस्थामा पुनारागमन गर्दै दोश्रो सेटमा २५–१६ तथा तेश्रो सेटमा १८–८ मा विजयी बन्यो ।
लिगकम नकआउटको आधारमा जारी प्रतियोगितामा जिल्लाभरका ८ वटा टोलीहरुले सहभागिता जनाएका छन् । बेष्ट अफ थ्रि को आधारमा खेलाईने लिग खेलबाट पहिलो तथा दोश्रो समुहबाट शिर्ष २/२ वटा टोली सेमिफाइनलमा प्रबेश गर्नेछन् । प्रतियोगिताको विजेताले ४० हजार तथा उपविजेताले २५ हजार प्राप्त गर्ने प्रतिष्गठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष हरिबहादुर महतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका राजनीतिक दलहरुमा प्रतिनिधीहरु, स्थानीय हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधब तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।