भूकम्पपीडित ठूलीमायालाई नेपालमै पहिलाे नयाँ घर
मकवानपुरको टिस्टुङ गाविस वडा नंबर ६ बसन्तकी ठूलीमाया स्याङ्तान (७६) ले भुकम्पले घर भत्कीएको एकवर्षपछि नयाँ घर पाउँदा खुशी भइन् । ‘१२ वैशाखमा भुकम्पले घर भत्किदा बनाउन सक्ने आँट थिएन तर आज नयाँ घर पाएँ’ १४ वैशाखमा गृह प्रवेश गर्दै ठूलीमायाले भनिन् । ठूलीमायाँ मुलककैे घर पाउने पहिलो भूकम्पपीडित हुन् ।
टिएरफण्ड र राडो नेपालले चार लाख ५० हजार रुपैयाँ खर्च गरेर उनको घर निर्माण गरिदिएको हो । नवनिर्मीत भवन एक समारोहका बीच टिएर फण्डका कन्ट्री डाईरेक्टर दावा दिकास्त्रा र पुर्ननिर्माण प्राधिकरणका योजना अधिकृत प्रकाश देवकोटाले ठूलीमायालाई हस्तान्तरण गरे ।
भूकम्पले घर भत्काएपछि ठूलीमाया त्रिपालको टहरोमा बस्दै आएकी थिइन् । त्रिपाल पनि दसैको अष्टमीका दिन आगोलागी हुँदा उनको सबै मालसामान नष्ट भएको थियो । उनी पछिल्लो समय गैर सरकारी संस्थाहरुको सहयोगमा निर्माण भएको जस्ताको गोलघरमा बस्दै आएकी थिइन् । उनको २४ वर्ष अघि श्रीमान्को मृत्यू भएको थियो भने दुई छोरा किशोर अवस्थामा नै मृत्यू भएको थियो ।
भुकम्पपछि अन्तराष्ट्रिय गैरसरकारी संस्था टिएरफण्ड र राडो नेपालले पहिलो पटक मकवानपुरमा नमूना घर निर्माण गरी हस्तान्तरण गरेका हुन् । मकवानपुरको आग्रा र टिस्टुङमा ३९ वटा घर नमूनाका रुपमा बनाईने राडो नेपालका अध्यक्ष कृष्ण धितालले बताउनुभयो । घर हस्तान्तरण गरिएसंगै ठूलीमायालाई गृह प्रबेश गराईएको थिए । टिस्टुङ गाविसका सचिब राजेन्द्र चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति रामचन्द्र अर्याल माइकल, एमालीकी अध्यक्ष मुनु सिग्देल, एमाओवादीका अध्यक्ष प्रेम बहादुर पुलामी, राप्रपा नेपालका उपाध्यक्ष रामहरी तिमल्सिना, राडो नेपालका अध्यक्ष कृष्ण धिताल टिएर फण्डका रेस्पोन्स म्यानेजर राजन घिमीरे नपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य प्रताप विष्ट लगायतको उपस्थिती रहेको थियो ।