चेपाङ् प्राविका विद्यार्थीलाई पोशाक

 शिव चौलागाईं
 मकवानपुरको हाडीखोला ७, चिसापानीमा रहेको चेपाङ् प्राविका १ सय २६ जना विद्यार्थीलाई शनिबार विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालय पोशाकका लागि होस्टेहैंसे समूह हेटौंडाले २५ हजार, शङ्कर न्यौपानेले १५ हजार, निर्माण व्यवसायी
संघ मकवानपुरबाट १० हजार, ज्योतिरत्न बज्रचार्यले ७ हजार पाँच सय, लायन्स क्लव अफ लर्डबुद्घ, सानकाजी लुइटेलले ५ हजार, रामबहादुर खतिवडाले ५ हजार र सूर्यबहादुर रोक्काले २ हजार रुपिया सहयोग गरेका हुन् । यस्तै, युवराज आचार्यले विद्यार्थीहरुका लागि २० थान झोला सहयोग गर्नुभएको छ ।

शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थितीमा विद्यालयमा आयोजित कार्यक्रममा पोशाक तथा झोला प्रदान गरिएको हो । विद्यालय व्यवस्थापन समिती अध्यक्ष शिशुपाल बस्नेतको अध्यक्षता तथा लायन्स क्लव अफ लर्डबुद्घका संस्थापक एवम् नेपाल सुनचाँदी व्यवसायी संघ मकवानपुरका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 


कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय नेता चन्द्रबहादुर न्यौपाने, लायन्स क्लव लर्डबुद्घका अध्यक्ष प्रेमलाल श्रेष्ठ, विद्यालयका संस्थापक कमलचन्द्र सुमन, स्थानीय समाजसेवी भरत पराजुली, विद्यालयका शिक्षिका सीता अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा होस्टेहैंसे समूह हेटौंडाका अध्यक्ष एवम् हेटौंडा सन्देश दैनिकका प्रबन्ध निर्देशक माधव न्यौपाने, लायन्स क्लव लर्ड बुद्घका सचिव विजय श्रेष्ठ, कोषाध्यक्ष नरेन्द्र श्रेष्ठ, पशुपति मावि हाडीखोलाका प्रधानाध्यापक भानुभक्त आचार्य, नेपाल शिक्षक संघका विदुरविक्रम थापा, अनिष लामिछाने लगायतको आतिथ्यता रहेको थियो । विद्यालयमा हाल एक दरबन्दी र एक राहत शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बताउनुभयो ।

All news in One Place