मकवानपुर भलिबलको उपाधि सशक्तलाई
शुभराज गाेले ।
मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सशक्त युवा क्लब आग्राले हात पारेको छ । शनिबार भएको फइनलमा सशक्तले कुण्डलदेवी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पछि पार्दै जित हासिल गरेको हो । जितसंगै सशक्त युवा क्लबले नगद ५० हजार ५ सय सहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ ।
दोस्रो हुने कुण्डलदेवीले नगद ३० हजार ३ सयसहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा बज्रवाराही युवाक्लबलाई पछि पार्दै वागेश्वरी युवा क्लब तेस्रो भएको छ । तेस्रो हुने बागेश्वरीले नगद २० हजार २ सय सहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ ।
आग्राको कालीदेवी युवा समूहले आयोजना गरेको प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई गृह मन्त्री शक्तिबहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा उत्कृष्ट लिफ्टर सशक्त युवाक्लब आग्राका उत्सव खड्का घोषित भए भने उत्कृष्ट ब्लकर पनि सशक्तकै योगेश हमाल घोषित भए । त्यस्तै उत्कृष्ट स्पाइकर कुण्डलदेवीका रामकरण चौधरी घोषित भए । प्रतियोगितामा उदयमान खेलाडी बज्रवाराही युवा क्लबका बलराम सुवेदी घोषित भए ।
पुरस्कार वितरण समारोहमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मान बहादुर विक, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मीरा चौधरी लगायतको उपस्थिती रहेको थियो । तस्विरः विनाेद लामा