भूकम्पपीडितलाई एक सातामा पहिलो किस्ताः गृहमन्त्री

तस्विरः राेशन रायमाझी
एकीकृत नेकपा माओवादीका नेता तथा गृहमन्त्री शक्ति बहादुर बस्नेतले भूकम्पपछिको पुनःनिर्माणको महाअभियान १२ वैशाखबाटै शुरु हुने बताएकाछन् । मकवानपुरको थाहानगरमा ११ वैशाखमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भूकम्प पीडितहरुले संकलित तथ्याङ्कको आधारमा प्रकृया पूरा गरी ७ दिन भित्रमा सरकोले घर बनाउन दिने भनेको रकम पहिलो किस्तामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मकवानपुरको आग्रा गाविसमा भएको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको समापनका लागि मकवानपुर आएका गृहमन्त्री बस्नेतले प्राविधिक कारणले भूकम्प पीडितले छिटो राहत पाउन नसकेको स्वीकार्दै अब सक्दो छिटो सरकारले तयार गरेको मापदण्डको आधारमा आवास निर्माणका लागि राहत प्रदान गर्ने बताए । उनले थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टलाई सम्झदै उनको दर्शनको चर्चा गरे । 

भेटघाट कार्यक्रमको अवसरमा थाहानगरको समस्या समाधानका लागि एकीकृत नेकपा माओवादी थाहानगर संयोजक अरुण रायमाझीले ज्ञापनपत्र बुझाएका थिए । बस्नेतले ज्ञापनपत्र बुझ्दै थाहानगरमा शान्ति सुरक्षा, इलाका प्रशासन सेवा केन्द्र लगायतका लागि आफ्नो तर्फबाट तत्काल काम थाल्ने प्रतिक्रिया दिए । २०७२ साल नाकाबन्दी, विनासकारी भूकम्प लगायतको पीडा खेप्नु परेको भए पनि जनताको संविधान महत्वपूर्ण उपलब्धी भएको भन्दै यसलाई कार्यान्वयन गर्न सबै दल, नागरिक एकजुट हुनुपर्ने बताए ।
-जनक लामा/थाहानगर

All news in One Place