केशवलाल स्मृति जिल्लास्तरीय भलिबलमा थाहानगरको जित

मकवानपुरको थाहानगर खेलकुद विकास समितिले केशवलाल स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता २०७२ को च्याम्पियन भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा सम्पन्न फाइनलमा युग प्रकाश क्लब नवलपुरलाई पराजित गर्दै थाहानगर च्याम्पियन भएको हो । 

उपाधिसंगै थाहानगरले नगद ४० हजार रुपियाँ हात पारेको हो । उपबिजेता युग प्रकाशले नगद २५ हजार रुपियाँसहित ट्रफी प्राप्त ग¥यो । बिजेता तथा उपबिजेता खेलाडीलाई शिक्षासेवी पुरनबहादुर जोशी, प्रतिष्ठान अध्यक्ष हरिबहादुर महत, जिल्ला खेलकुद विकास समिति अध्यक्ष बालकृष्ण चौलागाईं तथा स्वर्गीय केशबलाल श्रेष्ठकी पत्नी मञ्जु श्रेष्ठले पुरस्कार तथा नगद प्रदान गरेका थिए । प्रमुख प्रशिक्षक तथा राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठले वैशाख १२ को विनासकारी भूकम्पमा परी ज्यान गुमाएका थिए  ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी थाहानगरका बलराम सुवेदी घोषित भए । सुवेदीले नगद तीनहजार रुपियाँसहित ट्र्याकसुट प्राप्त गरे । थाहानगरका सागर बिष्ट उत्कृष्ट ब्लकर, युग प्रकाशका सुशान्त आले उत्कृष्ट डिफेन्डर, रोशन गुरुङ लिफट्र र बुद्धि दंगाल स्पाइकर घोषित भए । उत्कृष्ट खेलाडी सम्पूर्णले नगद दुईहजार रुपियाँ र एक थान जर्सी प्राप्त गरे ।
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदानमा भएको प्रतियोगितामा जिल्लाका आठ टोली सहभागी थिए । प्रतिष्ठानले वर्षमा एउटा जिल्लास्तरीय र राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताएको छ ।

All news in One Place