कुलेखानी बचाउन अन्तरक्रिया

जिल्ला भू–संरक्षण कार्यालय मकवानपुरको आयोजनामा २० चैतमा थाहानगरमा कुलेखानी जलाधार संरक्षण सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम भएको छ । मुलुककै पहिलो मानव निर्मित ताल कुलेखानीलाई पुरिनबाट जोगाउने उपायको विषयमा अन्तरक्रियामा छलफल भएको थियो । कुलेखानी जलाधार क्षेत्रमा हुने भूक्षयलाई नियन्त्रण गर्नका लागि विभिन्न मानवीय व्यवहारलाई सुधार्नुपर्ने विषयमा पनि छलफल भएको थियो । 

‘सुरक्षित जलाधार समुन्नतीको आधार’ भन्ने मुल नाराका साथ पालुङ बहुद्देशीयका सहकारी सस्थाको सभाहलमा भएको कार्यक्रममा कुलेखानी जलाधार क्षेत्रको विभिन्न नौ वटा उप जलाधार क्षेत्रको विषयमा सामेत चर्चा गरिएको थियो । 
जलाधार क्षेत्रका बासिन्दाले वर्षेनी जथाभावी अवैज्ञानिकले तरिकाले खेतीपाती तथा अन्य क्रियाकलाप गर्दा भूक्षय भई कुलेखानीको पिँधको सतह बढ्दै गएकोले यसलाई रोक्नको लागि कृषक लगायत यहाँको विकास कार्य गर्ने सबैले सचेत हुनुपर्ने बताए । कुलेखानी जलाधार संरक्षण तथा विकास मञ्चका अध्यक्ष हरिकृष्ण कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई जिल्ला भूसंरक्षण कार्यालय मकवानपुरका सहायक भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले सहजीकरण गरेका थिए । 
कार्यक्रममा जिल्ला भूसंरक्षण अधिकृत पुष्पराम थापा, जिल्ला बन अधिकृत राजेन्द्रप्रसाद न्यौपाने, जिल्ला वनस्पति कार्यालयका प्रमुख नरहरी आचार्य, जिल्ला कृषि विकास कार्यालय मकवापुरका रविन्द्र पौडेल, थाहा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, पत्रकार प्रताप विष्ट लगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रमका सहभागीहरुले जलाधार क्षेत्र संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । 
-जनक लामा, थाहानगर

All news in One Place