हामी सबैको "मकवानपुर आइडल"
मकवानपुरमा नयाँ वर्ष २०७३ शुरु भएसंगै एकजना त्यस्तो व्यक्तिको घोषणा हुँदैछ । २०७३ सालको शुरुकै दिन वैशाख १ गते मकवानपुरको कला क्षेत्रको एक उदयीमान व्यक्ती घोषणा हुँदैछन्, तिनी हुन मकवानपुर आइडल । २०७२ सालको वैशाख १२ र २९ गतेको विनासकारी भूकम्पले पीडित भएका मनलाई शान्त पार्न कला र संस्कृतिको संरक्षण गर्न थाहा कला केन्द्रले थालेको मकवानपुर आइडलको अन्तिम स्पर्धा वैशाख १ गते मकवानपुर थाहानगरको जेसीज सभाहलमा हुँदैछ । प्रस्तुत छ, २०७२ साल भदौ ३ गतेबाट शुरु भएको मकवानपुर आइडल आयोजना गर्ने संस्था थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानसंग विकास खबरपत्रिकाले गरेको कुराकानी ।
अध्यक्ष: सानोबाबु मोक्तान |
थाहा कला केन्द्रले अरु कार्यक्रम भन्दा पनि किन मकवानपुर आइडल नै संचालन गरेको ?
थाहा कला केन्द्र, कला र संस्कृतिलाई आत्मसाथ गरी अगाडि बढ्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो । थाहा कला केन्द्रले गर्ने हरेक किसिमका कार्यक्रमहरु, जनाउने सहभागिताहरु अलि पृथक होस् भन्ने चाहाना हो । र, कलाकारिताको बारेमा सबैलाई स्पष्ट थाहा छ । यसको अर्थ मकवानपुर जिल्ला स्तरीय एकल गायन प्रतियोगिता जुन हामीले आयोजना गरिराखेका छौँ, जसको कारण एउटा गहकिलो प्रतिभा थाहा कला केन्द्रको माध्ययमबाट स्थापित गराउने लक्ष्यले यो प्रतियोगिताको आयोजना गरेका हौँ । हुनतः यस्तो किसिमका प्रतियोगिताहरु आयोजना भैराख्नु कुनै नौलो त पक्कै हैन तर यो प्रतियोगिताबाट जन्मिएको प्रतिभालाई स्थापित गराएरै छाड्ने हाम्रो प्रतिबद्धता हो । मुख्यतः आईडल बनाएरै मात्र नछाड्ने ती प्रतिभाहरुलाई स्थापित गराएरै छाड्ने एउटा उदाहरण नै बनेर देखाउने भन्ने उद्देश्यले मकवानपुर आईडलको अभियान संचालन गरेका हौ ।
मकवानपुर आइडलको घोषणा हुन छोटो समय मात्र बाँकी छ, तयारी कस्तो छ ?
अहिले यसको तयारी तिव्र गतिमा चलिरहेको छ । जस्तो कि, हामीले प्रतिस्पर्धिहरुका लागि छुट्टै कक्षा संञ्चालन, प्रचारप्रसार, कार्यक्रम व्यवस्थापनका पक्षहरु सबैलाई अगाडि बढाईराखेका छौँँ । मुलतः हामीले जुन कुरा अपेक्षा गरेर बढि पुरस्कार राशि राखेका थियौँ, अहिले त्यो अनुसारको रकम संकलन हुन गाह्रो भैराखेको छ । त्यसैले हामी आर्थिक संकलनकै क्रममा दौडधुप गरिराखेका छौँ । अतः हामी सम्पूर्ण थाहा कला केन्द्र परिवार, हाम्रा शुभचिन्तकहरु सबै नै यसैको तयारीमा लागिरहेका छौँ । मलाई लाग्छ यसले गति पाउँछ र हामी सफलताको बिन्दुमा पक्कै पुग्छौँ ।
कहाँ कहाँका प्रतिस्पर्धी छन् ?
थाहा कला केन्द्रले मूख्यतया ग्रामिण भेगका प्रतिभाहरुलाई समेटेर ल्याएको छ म यो किटान गरेरै भन्न सक्छु । यस्ता किसिमका आईडलहरु विषेशतः शहरी भेगमा हुने पाईयो र त्यसमा हाम्रो सहभागिता पहुँच अलि कम हो कि भन्ने आसयले हामीले ग्रामिण भेगमा पनि यसको आवश्यकता तथा महत्व उत्तिकै रहेको महशुस पश्चात आयोजना गरेका हाँै । त्यसैले विषेशतः जिल्लाका ग्रामिण तथा विकट मानिने गोगने, आग्रा, डाँडाखर्क, बज्रबाराही, मार्खु, दामन, पालुङ, टिष्टुङ जस्ता क्षेत्रहरु समेट्ने गरी हामीले अडिसनहरु सञ्चालन गरेका थियौं । त्यस्तै जिल्लाको सदरमुकाम हेटौँडामा समेत पुगेका थियौं । र अहिले फाईनलमा टिष्टुङको १ जना, बज्रबाराहीको १ जना, गोगनेको १ जना, हेटौँडाका १ जना, चित्लाङको १ जना र दामन पालुङको ५ जना गरी जम्मा १० प्रतिस्पर्धीहरु आगामी बैशाख १ गते हुने फाईनलमा सहभागिता जनाउँदै छन् ।
दश उत्कृष्ट सहभागी छनौंट कसरी गरियो ?
हामीले २०७२ भाद्र ३ गतेबाट कार्यक्रमको सुरुवात गरेका थियौं । विभिन्न ६ ठाउँहरुबाट जम्मा ३ सय ४७ जनाको सहभागिता रहेको थियो । जसमध्ये प्रारम्भिक अडिसनबाट १ सय १४ जना छनौट भए, दोस्रो चरण ३५, तेस्रो चरण १५ र १५ जनाबाट १० जनालाई फाईनलमा उतारेका छौँ । र, ती चरणहरुको आयोजना गर्दा हामीले यति सास्ती भोगेका थियौँ की जुन जीवनकै अविस्मरणिय क्षणहरु रहन गएको छ । किनकी त्यस बखत देशमा भुकम्प, नाकाबन्दी जस्ता विषम् परिस्थिति आईलागेको थियो । तर हामीले ति विषम् परिस्थितिलाई पञ्छाउँदै यहाँसम्म आई पुगेका छौँ ।
आइडलको विभिन्न चरणको कार्यक्रम व्यवस्थापन कसरी भइरहेको छ ?
जुनसुकै कार्यक्रम आयोजना गर्नको लागि मूख्यतया आर्थिक स्रोत सबल हुनु पर्ने रैछ तर हामीसंग आईडल प्रारम्भ गर्ने समयदेखि नै आर्थिक पक्ष त्यस्तो सबल थिएन । किनकी थाहा कला केन्द्र अहिले भर्खरै जन्मिएको र सरुवाति चरणमै रहेको छ । सुरुमा हामीले कला केन्द्र स्थापनार्थ थोरै थोरै रकम संकलन गरेर स्थापना गरेका थियौं । र, त्यस्तै क्रममा आईडलको अवधारणा आएपश्चात यस कला केन्द्रको संस्थापक गणेश मोक्तान दाजुले आर्थिक स्रोतको प्रारम्भ गरिदिनु भयो । त्यहि बेला देखिनै हामीले सहयोग संकलन गर्दै कार्यक्रमहरु गरिराखेका छौँ ।
समस्या र चुनौति पनि खेप्नु परेको होला नि ?
जुनसुकै कार्यक्रममा साधारणतया समस्या अनि चुनौति त आसपासमै रहिनैहाल्छ । तर यो प्रतियोगितामा धेरै समस्या भोग्नुपरेको व्यथा साथमा नै छ । तर पनि साथमा साथ हातमा हात भन्ने कुराको विस्तृत व्याख्या मैले यस प्रतियोगिता आयोजना गर्दा पाएको छु । सामान्यतया स्वभाविक रुपमै लिएको छु ।
आइलडलले यहाँको के के कुरालाई प्रोत्साहन गर्दछ ?
मकवानपुर आईडलले सिङ्गो देशमा नै प्रभूत्व जमाउनु पर्नेमा हाम्रो जोड हो । मान्य छ कि आफ्नो बाबु आमालाई छोरा छारीले कहिल्यै हेरी छाड्दैनन् । त्यस्तै मकवानपुर आईडलको हामी अभिभावक हौँ । आईडललाई व्यापक बनाउने हामी सबैको जिम्मेवारी हो । बाँकि कसले कस्लाई कसरी प्रोत्साहन गर्दछ, त्यो समयले निर्धारण गर्दछ । यसैले मलाई लाग्छ सायद मकवानपुर आईडलले धेरै पक्षलाई समेटेर अगाडि बढ्नेछ । विषेशतः कला र संस्कृतिमा ज्वलन्त रुपमा फड्को मार्ने जुन हाम्रो उद्देश्य छ, त्यो उद्देश्यलाई यस आईडलले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तसर्थ, यसले यस क्षेत्रका विभिन्न यस संग सम्बन्धित पक्षलाई प्रोत्सान गर्नेमा कुनै बिमति नहोला ।
कार्यक्रमका लागि सहयोग पनि गरेकाछन् कि ?
मैले अघि पनि जानकारी गराएँ सुरुवाती चरणमा गणेश मोक्तान दाजुबाट सहयोग प्राप्त भएको थियो त्यस लगत्तै केहि साथीहरुबाट सहयोग संकलन भयो अहिले विभिन्न संघ संस्थाहरुबाट सहयोगहरु आईरहेका छन् र विषेशतया मकवानपुर आईडललाई थाहा नगरपालिकाबाट सहयोग मिलेको छ र हामीले निर्णय गरे अनुसार मकवानपुरको फाईनल व्यानरमा मूख्य सहयोगी भनेर हामी लेख्नेछौं । हामीलाई थाहा नगरपालिकाको कार्यालयबाट रु.१ लाख रुपैयाँ विनियोजन भएको छ । सबैभन्दा दरिलो आधार हामीलाई थाहा नगरपालिकाले नै दिएको छ । त्यस्तै हाम्रो तृतीय पुरस्कार स्वरुप नगद रु.२००००/- (बीस हजार) हाम्रा मकवानपुर जिल्लाको क्षेत्र नं. १ का माननिय सांसद ईन्द्र बानियाँले प्रदान गर्नुभएको छ । यसले झन् हामीलाई थप हौसला मिलेको छ । र, हाम्रो हौसला झन् मजबुत हुनेमा हामी विस्वस्त छौँ ।
अब मकवानपुर आइडलले वर्षेनी निरन्तरता पाउँछ कि ?
अर्को प्रतियोगिता को योजना नभएको हैन, झन् अब त यो प्रतियोगिताको अनुभवले अर्को प्रतियोगिता गर्नको लागि थप टेवा पुग्ने कुरामा म विस्वस्त छु । यस्तो प्रतियोगिता आजको आवश्यकता हो भन्ने मैले महसुस गरेको छु । त्यसैले यस्तो प्रतियोगिताको आयोजना हुनु पर्दछ भन्ने अडान सबैको रहुनपर्छ भन्ने मानसिकता हो मेरो । हामीले पहिलो वर्ष मकवानपुर जिल्लालाई समेट्यौँ, आगामी दिनमा अञ्चल हुँदै सिङ्गो राष्ट्रकै आईडल बनाउने सोचमा छौँ । किनकी वर्षको १ पटक एक जना त्यस्ता प्रतिभा जसले देशकै सानको रुपमा आफूलाई स्थापित गराउन सकोस भन्ने हाम्रो यो चाहाना हो र त्यसलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धता हो ।
अन्तमा ?
धेरै संघर्ष पश्चात हामी आज यो चरणसम्म आईपुगेका छौँ, सानो दुःखले आईपुगेका छैनौँ । त्यसैले ति दुःखहरुलाई हामी सबैको स्वर्णिम् दिन नयाँ वर्षको दिन बिसाउन लागिराखेका छौँ । र, त्यो दुःखलाई बिसाएर नयाँ उमङ्गका साथ हामी अगाडि बढ्ने प्रतिबद्धता पनि सोहि दिन गर्न लागिराखेका छौँ । त्यसैले सबैभन्दा महत्वको कुरा सबैजना उपस्थित भैदिनुहोला । र, यहाँसम्म आईपुग्नको लागि साथ र सहयोग गर्नुहुने सम्पूर्णलाई आभार पनि प्रकट गर्न चाहन्छु । र आईडललाई सिङ्गो राष्ट्रकै गहना बनाउने हाम्रो जुन लक्ष्य छ, त्यो लक्ष्य प्राप्तिको लागि सम्पूर्णमा साथको अपेक्षा राख्न चाहन्छु ।
धन्यवाद