गाउँभरि दीप प्रज्वलन

रामकुमार कार्की
मकवानपुर, १२ बैशाख/मकवानपुरको अति भूकम्प प्रभावित आग्रा र टिस्टुङ गाविसमा गाउँभरि एक साथ दीप प्रज्वलन गरिएको छ । बिनासकारी भूकम्पको वर्ष पूरा भएको दिन आइतबार साँझ धादिङसँग सीमाना जोडिएको मकवानपुरको दुई गाविसमा गाउँभरि दीप प्रज्वलन गरिएको हो ।
स्थानीय समुदायको सहभागितामा टिस्टुङको पाँच र आग्राको चार गरी नौ स्थानमा दीप प्रज्वलन गरिएको छ । टियर फण्डको सहयोग र बाल कल्याण समाजको आयोजनामा
साँझ साँढे ६ बजे एक साथ दीप प्रज्वलन गरिएको टिस्टुङ गाविसका प्राविधिक सहायक पूर्ण गोलेले जानकारी दिए ।
आग्राको मोरिया, चल्ती, पिपलचौतारा, भट्टेडाँडा र डाँडाबासमा भेला भएर दीप प्रज्वलन गरिएको बाल कल्याण सामाजकी आग्रा सुपरभाइजर उमा कार्कीले जानकारी दिइन् । त्यस्तै टिस्टुङको लिती, गैरीगाउँ, नौखण्डे र खाप्लुङमा दीप प्रज्वलन गरिएको टिस्टुङ सुपरभाइजर वीरबहादुर थापामगरले बताए । 
कार्यक्रममा भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झना गर्दै श्रद्धान्जली व्यक्त गरिएको थियो । स्थानीय हजारौं सहभागी कार्यक्रममा समुदायका अगुवाहरुले भूकम्प पछिको अवस्थाहरुको सामना गर्न सबै पक्षको सहयोग जरुरी रहेको बताएका थिए । उनीहरुले भूकम्प पछि महिला, बालबालिका तथा विपन्न वर्गका मानिसहरु बढी जोखिममा परेको बताउँदै उनीहरुको संरक्षणका लागि सबैको सहभागिता आवश्यक रहेको औंल्याए । ‘यसका लागि सबैले लिखित प्रतिवद्धता जनाएका छन्,’ संस्थाका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले भने । 
कार्यक्रममा सामुदायिक संरक्षण परिचालकहरुले भूकम्प पछिको अवस्था र संरक्षणका सवालहरुबारे सचेतनामुलक अभिव्यक्ति दिएका थिए । लितिमा बुद्ध वाइबा, गैरीगाउँमा रेखा नेगी, नौखण्डेमा हिरामाया बल, खाप्लुङमा सूर्य तामाङ र डाँडाबासमा बिवेक थिङले सहजीकरण गरेको सुपरभाइजर थापाले बताए ।
त्यस्तै मोरियामा मिलन नेगी, पिपलचौतारामा मंगलीमाया थिङ, चल्तीमा सावित्री केसी र भट्टीडाँडामा लक्ष्मी तामाङले सहभागीहरुबीच सचेतनामुलक मन्तव्य दिएका थिए । 
ठीक एक वर्ष अघिको विनासकारी भूकम्पमा परी मकवानपुरमा ३३ जनाको मृत्यु हुँदा टिस्टुङमा ४ र आग्रामा ८ जनाको मृत्यु भएको थियो । त्यस्तै  दुबै गाविसमा गरी २७ जना घाइते भएका थिए । आग्रामा एक हजार ५  सय ९२ मध्ये एक हजार ५ सय ४२ घर भत्किएका थिए भने टिस्टुङमा एक हजार ६ सय १७ मध्ये एक हजार ५ सय ११ घरमा क्षति पुगेको थियो । 
बाल कल्याण समाज मकवानपुरले टियर फण्डसँगको साझेदारीमा टिस्टुङ र आग्रा गाविसमा संरक्षण र शिक्षासम्बन्धी कार्यक्रम संचालन गरिरहेको छ । 
जिल्लाका ३५ गाविसमध्ये आग्रा सबै भन्दा बढी भौतिक क्षति भएको गाविस हो । 



All news in One Place