एसएलसी परीक्षार्थीलाई सेनेटरी प्याड
मकवानपुर, १८ चैत/एसएलसी परीक्षामा सहभागी छात्रा परीक्षार्थीहरुलाई लक्षित गरेर मकवानपुरका परीक्षा केन्द्रहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । जिल्ला बाल कल्याण समितिको सहकार्यमा जिल्ला शिक्षा कार्यालयले जिल्लामा पहिलो पटक एसएलसी परीक्षार्थीहरुका लागि सेनेटरी प्याडको व्यवस्था गरेको हो ।
जिल्लामा संचालित २४ वटै परीक्षा केन्द्रहरुमा सेनेटरी प्याड पु¥याइएको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । ‘महिनावारी भएका परीक्षार्थीहरुलाई प्याडको समस्याले मानसिक चिन्ता हुने र परीक्षा नै विग्रन सक्ने भएकाले हामीले महिला तथा बालबालिका कार्यालयलाई आग्रह गरेका थियौं,’ शिक्षा अधिकारी आचार्यले भने ।
परीक्षार्थीहरुलाई प्याड आवश्यक परेमा महिला शिक्षकमार्फत् प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । यसका लागि परीक्षा केन्द्रमा एक महिला शिक्षकलाई ‘फोकल पर्सन’ तोकिएको शिक्षा कार्यालयले जनाएको छ ।
गतवर्ष नेपालमै पहिलोपटक कास्कीबाट एसएलसी परीक्षार्थी लक्षित गरी सेनेटरी प्याड वितरण शुरु गरिएको थियो । त्यतिखेर हाल मकवानपुरका शिक्षा अधिकारी कास्कीमै थिए । अघिल्ला वर्षहरुमा परीक्षा दिँदादिँदै महिनावारी भएका परीक्षार्थी परीक्षा नै छाडेर हिँडेको र आत्महत्या गर्ने अवस्थासम्म पुगेको पाइएकाले कास्कीमा महिला तथा बालबालिका कार्यालयसँग समन्वय गरी प्याड वितरण शुरु गरेको शिक्षा अधिकारी आचार्यले बताए ।
मकवानपुरमा परीक्षार्थीहरुलाई प्याड मात्र होइन, प्याड फेर्न छात्रामैत्री शौचालयको समेत व्यवस्था गरिएको छ । शौचालयमा सकेसम्म सावुनपानीको समेत व्यवस्था गरिएको शिक्षा कार्यालयले जनाएको छ ।
केही दिनअघि मकवानपुरमा शिक्षा क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरुको संजाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान संजाल मकवानपुर’ ले एसएलसी परिक्षालाई बालिका र अपाङ्गमैत्री बनाउन आग्रह गरेको थियो । जिल्ला शिक्षा कार्यालय, शैक्षिक संजाल र गैरसरकारी संस्थाहरुको सहकार्यमा बिहीबार आधाजसो परीक्षा केन्द्रहरुमा सेनेटरी प्याडको उपलब्धताबारे सूचना लेखिएको फ्लेक्स बोर्ड नै राखिएको शैक्षिक संजाल मकवानपुरका संयोजक नरबहादुर पाख्रिनले जानकारी दिए ।
सूचना बोर्डका लागि बाल कल्याण समाज, सामुदायिक विकास संस्था, राडो नेपाल, हिमराइट्स लगायतका १५ वटा संस्थाहरुले सहयोग गरेका थिए । शुक्रबारसम्म सबै परीक्षा केन्द्रहरुमा यस्तो बोर्डको व्यवस्था गरिने शिक्षा अधिकारी आचार्यले जानकारी दिए । परीक्षा केन्द्रको मूल गेटमा सबैले देख्न सक्नेगरी राखिएको बोर्डमा ‘छात्राहरुको महिनवावारीको कारण पर्ने समस्यालाई मध्यनजर राखी यस वर्ष परीक्षा केन्द्रमा नै सेनेटरी प्याडको व्यवस्था गरिएकोले आवश्यकता अनुसार प्रयोग गर्न सकिनेछ ’ भन्ने सन्देश लेखिएको छ । त्यस्तै कुनै पनि परीक्षार्थीलाई गम्भीर समस्या आई परेमा निरीक्षक वा केन्द्राध्यक्षलाई सम्पर्क गर्न समेत सूचित गरिएको छ ।
परीक्षा केन्द्रहरुमा राखिएको फ्लेक्स बोर्डमा सेनेटरी प्याडको उपलब्धताबारे सूचनाका साथै परीक्षार्थीहरुलाई नआत्तिन, उच्च मनोवल कायम गर्न, स्वास्थ्यका बारेमा चनाखो हुन, समयमै परीक्षा केन्द्र पुग्न आग्रह गरिएको शैक्षिक सञ्जालका सदस्य संस्था बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । फ्लेक्समा प्रवेश पत्र तथा उत्तर पुस्तिकामा लेखिएका निर्देशनहरु परीक्षा अगाडि नै पढेर पालना गर्न, प्रश्नले मागेको उत्तर एकीन भएपछि प्रश्नको प्रकृति र अंकभार एवं समयलाई मध्यनजर गर्दै मौलिकता झल्कने गरी बुँदागत रुपमा सफा र शुद्धसँग लेख्न तथा सबै प्रश्नको उत्तर लेखी सकेपछि बचेको समय लेखेका उत्तर पुनः पढी छुटफुट भएमा सच्याउनु पर्ने सन्देश समावेश गरिएको छ ।
एसएलसी परीक्षाको पूर्व सन्ध्यामा परीक्षालाई मध्यनजर गरी बाल कल्याण समाजले टिस्टुङस्थित बागेश्वरी माविका ६२ जना विद्यार्थीहरुलाई सौर्यबत्ती उपलब्ध गराएको थियो ।