मंगलबार ३ कराेडकाे काराेबार : ३९ हजार अवलाेकनकर्ता

मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको छैटौें दिन आज मंगलबार ३ करोड ९८ लाख २५ हजारको कारोबार भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताए । र पाँचौंदिन मंगलबार ३९ हजार ५ सय दर्शकले मेला अवलोकन गरेको अध्यक्ष तथा मेला संयोजक न्यौपानेले बताए  । 

मंगलबार चर्चित लोकगायिका कोमल वलीले मकवानपुरका सांसद अनन्त पौडेल, राजाराम स्याङतान, मकवापुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, पत्रकार प्रताप विष्ट, महिला उद्यमीहरु र संघका कार्यसमितिहरुलाई आफ्ना चर्चित गीतहरुमा छमछमी नचाएका थिए । साथै चर्चित राष्ट्रिय गायक गायिकाहरु युवराज चौलागाई, रितु कँडेल, सरिता प्रजापति र धर्मेन्द्र सेंवान र स्थानीय कलाकारहरू फिउजन डान्स सेन्टर, कलिउड डान्स सेन्टर, तलेजु डान्स सेन्टर र श्रृजना कलाकेन्द्रका कलाकारहरु आफ्ना गीत प्रस्तुत र नृत्यले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए । 

हेटौंडा अस्पतालले ७५ जनालाई निःशुल्क सेवा दिएको छ । ५ जनाको प्राथमिक उपचार, ४२ जनाको ब्लडप्रेसर र २८ जनालाई औषधी वितरण गरेको हेटौंडा अस्पतालकी अहेव प्रमिला दंगालले बताउनुभयो । यसैगरी युनियन ड्रग हाउसले साधारण चेकअप १३ जना, औषधी वितरण २३ जना र ब्लडप्रेसर चेकजाँच ५६ जनाको गरिएको युनियन ड्रग हाउसका रवि कार्कीले बताउनुभयो । जिल्ला रेडक्रसले पनि ३१ जनालाई प्राथमिक उपचार गरिएको बताइएको छ ।

जिल्ला कृषि कार्यालयले जिल्लामा उत्पादन विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । मेलामा सूचनाप्रविधि सम्बन्धी विभिन्न मोवाइल, कम्प्युटर र इन्टरनेटसम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएको उद्योग वाणिज्य संघका महासचिव तथा प्रवक्ता महेन्द्र राउतले बताए । 
 मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखाना, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्दमी, घरेलु, रेडिमेड, आइस्क्रिम, का साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको थियो भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो । राष्ट्रिय औद्योगिक ब्यापार मेला २० गतेबाट ३० गतेसम्म चल्नेछ ।

All news in One Place