जंगलमै जन्माइन प्रेमिकाले बच्चा


दीपबहादुर घर्ती
जाजरकोट। दुईजीउकी प्रेमिका परियार एकाविहानै घाँस काट्न जगंल गइन्। १९ वर्षीया उनलाई एक्कासी व्याथाले च्याप्यो। जिल्लाको ढिमे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले जंगलमै दिएको स्वास्थ्य सेवाले उनको ज्यान वचेको छ। जंगलमै सुत्केरी व्याथाले छट्पटाई रहेकी उनको आवश्यक उपकरणविना नै एक अनमीले ज्यान वचाएकी हुन्।
परियार यही फागुन १३ गतेे साथीसंगीसँग गोरुलाई घाँस काट्न पाटुखोलाको जंगल गएकी थिइन्। जंगल पुग्दा नपुग्दै प्रेमिका परियारलाई सुत्केरी व्याथाले च्याप्यो। बैशाख/ जेठमा समेत घाम नलाग्ने अत्यन्तै चिसो जंगलमा सुत्केरी व्याथाले छट्पटाई रहेकी प्रेमिकालाई साथी संगीले केही गर्न सक्ने अवस्था थिएन। व्याथा लागेपछि उनी सँगै गएका साथीले जंगलमै आगो वालेर उनलाई सेके। तैपनि उनको ज्यान निकै जोखिममा थियो।
तर, उनको भाग्य बलियो थियो। ठिक त्यही बेला ढिमे स्वास्थ्य चौकीवाट एचए दिपक वली, अनमी निर्मला थापा र उषा सिंह जाजरकोट कै खुर्पामा दादुरा रुवेलाविरुद्धको खोप सञ्चालन गर्न भनेर पाटुखोलामा जंगलको बाटो हँदै जाँदै थिए। सुत्केरी व्याथाले चिच्याई रहेकी प्रेमिकाको आवाज सुनेपछि एचए दिपक वली र अनमी निर्मला थापाको ध्यान त्यतातिर मोडियो।
खोप सञ्चालनको फरक काममा हिँडीरहेका स्वास्थ्यकर्मीहरूसँग सुत्केरी गराउन चाहिने कुनैपनि उपकरण थिएन। तर, आमा तथा बच्चा दुवैको ज्यान जोगाउन आफूले जानेका उपाय उनीहरूले अपनाए।
अनमी निर्मला थापाले आफ्नो झोलामा भएको एक जोर ग्लोव लगाइन र प्रेमिकाको पाठेघरमा हात हालेर सुरक्षित तरिकाले वच्चा निकालिन्। अनमी थापाले सहजरुपमै वच्चा झिकेपछि फोन गरेर स्वास्थ्यचौकीबाट स्टेचर मगाइयो र प्रेमिका र वच्चा दुवैलाई गाउँमा रहेको स्वाथ्य चौकीमा पुर्‍याईयो। तर, बच्चालाई बचाउन भने सकिएन। ९ सय ग्राम तौल भएको वच्चाको निकालेको चार घण्टापछि स्वास्थ्य चौकी मै ज्यान गयो।
आमा प्रेमिका परियारको स्वास्थ्य अवस्था भने सुधार हुदै गएको स्वास्थ्य चौकीका ईन्चार्ज दिपक वली बताउनुहुन्छ। परियारको उपचार ढिमे स्वास्थ्य चौकीमै भईरहेको छ। प्रेमिकाको पहिलो सन्तान २ वर्षको वच्चा भएको वताईएको छ।
महिला खबरबाट
फोटो सौजन्यः एचए दिपक वली

All news in One Place