चेपाङ् प्राविका लागि बैकुण्ठ मानन्धर लगायत दौडने
शिव चौलागाईं ।
मकवानपुरको एक विद्यालयको विकासका लागि ख्यातिप्राप्ती राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, रत्न तुलाधार लगायत टोलीले नयाँ बर्षका अवसरमा शान्ति दौड गर्ने भएका छन् । मकवानपुरको हाडीखोला ७, चिसापानीमा रहेको चेपाङ् प्राविको भौतिक पूर्वाधार एवम् शैक्षिक गुणस्तर विकासका लागि आर्थिक सङ्कलन गर्ने उद्धेश्य काठमाडौंको बौद्घदेखि विद्यालयसम्म दौडिने कार्यक्रमको तयारी भएको हो । खास्टी नेवा पुचः काठमाडौं बौद्घको संयोजनमा विद्यालयलाई आर्थिक सहयोग सङ्कलनको लागि दौडने तयारी भएको राष्ट्रिय धावक रत्न तुलाधारले बताउनुभयो ।
चेपाङ्, वनकरिया , जनजाति समुदायका विद्यार्थी अध्ययनरत विद्यालयमा पुग्दा विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सघाउ पु¥याउन आवश्यक पाइएकाले आफूहरुले कति सकिन्छ आर्थिक सङ्कलनको अभियानमा खटिने तुलाधरले बताउनुभयो । नयाँ बर्षको आरम्भबाट सुरु हुने कार्यक्रममा देशका विभिन्न ठाउँमा आर्थिक सहयोग गर्न आव्हान गर्दै पर्चा, पम्प्लेटिङ् वितरण, सहयोग माग्दै टोलटोल पुग्ने लगायतका क्रियाकलाप गरिने बताइएको छ । विद्यालयमा हाल एक दरबन्दी र एक राहत शिक्षक रहेका छन् भने १ सय २६ जना विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बता
उनुभयो । भौगोलिक दुरीबाट खासै टाढा नभएपनि पिछडिएको क्षेत्र भएकाले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफूहरुलाई दाताहरुको सहयोग आवश्यक भएको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो । सात कोठा रहेको विद्यालय २०६२ सालमा स्थापना भएको हो भने हाल पाँच कक्षासम्म पढाइ भइरहेको छ ।