फाखेलमा पानीको मुहान सुक्यो : लिटरको १ रुपियाँ
२०७२ बैशाख १२ र त्यसपछिको भूकम्प तथा त्यसका पराकम्पका कारण पानीको मुहानहरु सुकेपछि उत्तरी मकवानपुरमा खानेपानी चरम अभाव भएको छ । मकवानपुरको फाखेल गाउँ विकास समितिका गाउँहरुमा खानेपानीको हाहाकार भएको छ ।
फाखेल गाविसको चखेल खोला पूरे सुकेको गाउँ बाल संरक्षण समितिका सदस्य जीवन लामाले बताए । चखेल खोला मुहानदेखि करिब ४ किलोमिटर तलसम्म सुकेको उनले जानकारी दिए । यस अघिचखेलखोलाबाट फाखेल गाविसको वडा नंबर ५, ६, ७, ८ र ९ वडाबासीले खानेपानी उपभोग गर्दै आएका थिए । फाखेल गाविस वडा नंबर १ का बासिन्दाले मिनट्रिकमै पानी ओसारेर खानेपानीको व्यवस्थ ागर्नका लागि बाध्य भएकाछन् । त्यस्तै वडा नंबर २ को राकसखोला, लप्सीखोला, महलक्ष्मीखोला लगायतको मुहान पनि सुक्न थालेको लामाले बताए ।
फाखेल गाविसको खोलाको ठूला मुहान बाहेक अरु सानातिना मुहान भने च्याप्पै सुकेको लामाले बताए । फाखेल गाविसबाट कुलेखानी तालमा पानी संकलनका लागि जाने पानीको स्रोत समेत सानो भएको छ ।
अहिले फाखेलको वडा नंबर ५, ६ र ७ का बासिन्दाले पानी संकलन गरेर बसबाटे गाउँमा ल्याउने गरेका छन् । उनीहरुले २० लिटर पानीको बसभाडा १० रुपियाँ तिरेर पानी ल्याउने गरेका छन् । त्यस्तै वडा नंबर १ का बासिन्दाले भने प्रतिलिटर एक रुपियाँ बसभाडा तिरेर पानी घरमा ल्याउने गरेका छन् ।