उत्तरी मकवानपुरका बाइस शिक्षक कार्बाहीमा

मकवानपुरको १७ विद्यालय अनुगमनमा गर्दा २२ शिक्षक कार्बाहीमा परेका छन् । जिल्ला शिक्षा अधिकारी अम्बिका शर्माको नेतृत्वमा भएको अनुगमनमा एकै विद्यालयका आठ शिक्षक विद्यालयमा उपस्थित नभएको पाइएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । 

अनुगमनको क्रममा उत्तरी मकवानपुरको मार्खुमा रहेको सरस्वती बाल बोधनी माविमा छड्के अनुगमनमा आठ जना शिक्षक कार्बाहीमा परेका छन् । त्यस्तै चित्लाङको नाट्यश्वर माध्यमिक विद्यालयमा छ जना शिक्षक छड्के अनुगमनमा कार्बाहीमा परेकाछन् । नाट्यश्वर माविमा यसअघिको निरीक्षणमा पनि शिक्षक अनुपस्थित पाइएको र यस पटक पनि सुधार नआएको शिक्षा कार्यालयले जनाएको छ । मत्त्स्यनारायण मावि पालुङ र शक्तेश्वरी महादेव प्रावि मार्खु १ सर्भाङमा तीन/तीन जना शिक्षक कार्बाहीमा परेको जिल्ला शिक्षा अधिकारी अम्बिका शर्माले  बताए । अनुगमनको क्रममा मार्खुको सत्यश्वर प्राथमिक विद्यालय बन्द नै रहेको शिक्षा कार्यालयले जनाएको छ । त्यस्तै ज्योति निमावि हेटौंडाका दुईजना शिक्षक पनि छड्केमा परेका छन् । 

कार्बाहीमा परेका शिक्षकको गयल कट्टी र अनुपस्थित अवधिको सेवा समेत नजोडिने शिक्षा अधिकारी शर्माले बताए । कारबाहीमा परेका शिक्षकहरुलाई शिक्षा कार्यालयले पत्र काटेको शर्माको भनाइ छ ।
यसैबीच लामो समय विद्यालय अनुपस्थित हुने ४/५ जना शिक्षकहरुलाई छ महीना वा एक वर्षको बेतलबी वा खारेजी तर्फ शिक्षा कार्यालयले कारबाही अघि बढाउने शिक्षा अधिकारी शर्माले बताए । 
फोटो : मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका शर्माको फेसबुकबाट ।



All news in One Place