उपमहानगरपालिकामा शुक्रबारबाट भूकम्प प्रभावित लगत संकलन हुने

हेटौंडा उपमहानगरपालिकामा माघ २९ गते शुक्रबारबाट भूकम्प प्रभावितहरुको लगत संकलन गरिने भएको छ । विहिबार दोस्रो चरण अन्तर्गत सामाजिक परिचालकहरुको तालिम सके लगत्तै उपमहानगरपालिकाक्षेत्रमा  बिहीबारबाट भूकम्प प्रभावितहरुको लगत संकलन गरिने भएको हो । आवास पुननिर्माणका लागि लगत संकलन कार्यमा खटिने इन्जिनियरलाई सहयोग गर्ने सामाजिक परिचालकहरुका लागि आयोजित अभिमुखिकरण तालिम विहिबार समापन भएको हो ।

मकवानपुरमा दोस्रो चरणका लागि लगत संकलन गर्न खटिने ६५ जना सामाजिक परिचालकहरुको तालिममा सहभागिता रहेको थियो । भूकम्प गएको ९ महिनापछि भूकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माणका लागि लगत संकलन कार्य सुरु गरिएको हो । उपमहानगरपालिका क्षेत्रमा ६५ सामाजिक परिचालकसंगै सोही संख्यामा ईन्जिनियरको टोली लगत संकलनमा सहभागि हुनेछन् । लगत संकलनमा सहभागि हुने सामाजिक परिचालक एवम् प्राविधिकहरुलाई विहिबार नै विदाई गरिएको छ । विदाई कार्यक्रममा जिल्ला लगत संकलन समन्वय समितिका सदस्य एवम् हेटौंडा उपमहानगरपालिका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले बस्तुनिष्ठ तथ्यांक संकलन गर्न निर्देशन दिनुभएको थियो । कार्यक्रममा तथ्यांक कार्यालय मकवानपुरका प्रमुख नवराज पौडेलले कोही पनि नछुटिने र नदोहोरिने गरी तथ्यांक संकलन गर्न निर्देशन दिनुभएको थियो । कार्यक्रममा जिल्ला विकास समितिका वरिष्ठ सामाजिक विकास अधिकृत रामकृष्ण थापा, तथ्यांक कार्यालय मकवानपुरका मोहन पुडासैनी, स्वास्थ्य अनुसन्धान तथा विकास मञ्च मकवानपुरका संयोजक राममणी दाहाल, टिम लिडर ईन्जिनियर विकास श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । यसैबीच तालिममा जिल्ला विकास समिति मकवानपुरका योजना अधिकृत किसन न्यौपाने, वरिष्ठ सामाजिक विकास अधिकृत रामकृष्ण थापा, तथ्याङ्क कार्यालयका अधिकृत नवराज पौडेल र मोहन पुडासैनीले सहजीकरण गर्नु भएको थियो । हेटौंडा उपमहानगरपालिकाको २९ वटै वडामा इन्जिनियरसंगै सामाजिक परिचालकहरुले घरघरमा पुगेर विद्युतीय प्रविधिबाट तथ्याङ्क संकलन गर्ने तथ्याङ्क कार्यालय हेटौंडाका तथ्याङ्क अधिकृत नवराज पौडेलले बताउनुभयो । प्राविधिकले ट्याब्लेट प्रयोग गरी संकलन गरेको तथ्याङ्क इन्टरनेटमार्फत सोझै सिंहदरवास्थित सरकारी एकीकृत डाटा सेन्टरमा रहेको केन्द्रीय तथ्याङ्क विभागको सर्भरमा पठाउने छन् ।
यमकुमार वाइबा/हेटाैंडा 

All news in One Place