आग्रा र टिस्टुङ पुग्यो तीनवटा संस्था
मकवानपुरको आग्रा र टिस्टुङ गाविसमा भूकम्पपछि देखिएका समस्याहरु समाधान गर्ने सन्दर्भमा पछिल्लो समय तीनवटा गैरसरकारी संस्थाहरु अग्रसर भएका छन् । टियर फण्डको आर्थिक सहयोगमा बालकल्याण समाज, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च र बहुआयामिक श्रोत केन्द्र नेपाल विभिन्न कार्यक्रममा सहयोग गर्न अग्रसर भएका हुन् । बाल कल्याण समाज दुबै गाविसमा पहिलो चरणको कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणको कार्यक्रममा अघि बढेको हो ।
आइतबार र सोमबार तीनवटै संस्थाले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी आफ्नो संस्थाको तर्फबाट संचालन गरिने कार्यक्रमहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएका थिए । ती संस्थाले डेढ वर्षका लागि आग्रा र टिस्टुङमा कार्यक्रम संचालन गर्ने जनाए ।
आग्रा गाविसका सचिब शम्भु पौडलेका अनुसार बाल कल्याण समाजले बाल संरक्षण र शिक्षाको क्षेत्रमा कार्यक्रम संचालन गर्न सहयोग गर्नेछ । त्यसैगरी सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चले समुदायमा आधारित विपद व्यवस्थापन र बहुआयामिक श्रोत केन्द्र नेपालले जीविकोपार्जनका क्षेत्रमा कार्यक्रम संचालन गर्न प्राविधिक सहयोग गर्नेछन् ।
संस्थाका तर्फबाट दुबै गाविसमा संचालन गरिने कार्यक्रमहरुका बारेमा जानकारी दिन आयोजित परिचयात्मक कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, वडा नागरिक मञ्च, गाउँ बाल संरक्षण समिति, मानव बेचविखन विरुद्ध गाउँ समिति, निगरानी समूह, गाविसस्तरीय महिला संजाल, कृषि समूह लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन गर्न टिस्टुङमा गाविस सचिब राजेन्द्रप्रसाद आचार्य र आग्रामा शम्भु पौडलेको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन समितिसमेत गठन गरिएको बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए ।
परिचयात्मक कार्यक्रममा बाल कल्याण समाजका कमल फुयाँल र कुमार नेगी, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चका मणिप्रसाद सुबेदी र पूर्णभद्र चौलागाईं र बहुआयामिक श्रोत केन्द्र नेपालका नारायण लामिछाने र बद्रि कार्कीले आआफ्नो संस्थाले संचालन गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।