२४५औं साहित्य सन्ध्या सम्पन्न
साहित्य संगम मकवानपुरले शनिबार २४५औं साहित्य सन्ध्या सम्पन्न गरेको छ । यसपटकको सन्ध्यामा संगमले डा. गणेश लामाको “जीवनका उकाली ओरालीहरु” कृति विमोचनका साथै कवि विशेष कार्यक्रम पनि सञ्चालन गरेको हो ।
कविता प्रस्तुत गर्दै कवि शुभलक्ष्मी विश्वकर्मा ।
|
हरेक महिना एक जना कविलाई विशेष कविका रुपमा प्रस्तुत गर्दै आएको संगमले यस पटकको कवि विशेष कार्यक्रममा कवि शुभलक्ष्मी विश्वकर्मालाई प्रस्तुत गरेको थियो । कार्यक्रममा शुभलक्ष्मी विश्वकर्माले (कविको सम्बोधन, हामी कहिलेसम्म कमजोर हुने र अँग्रेजीमा कविता लेखिनँ) शिर्षकको ३ वटा कविता प्रस्तुत गरेकी थिइन् । त्यसैगरी उनका कवितामाथि साहित्यकार रमेशमोहन अधिकारीले टिप्पणी गरेका थिए ।
कवितामाथि टिप्पणी गर्दै साहित्यकार अधिकारीले कवितामा युवा भावना व्यक्त भएको र बाहिरी सुन्दरतालाई दिइने प्राथमिकतामाथि व्यङ्ग्य गरिएको बताए । कवितामा कतै विरोधाभाष, स्थानको खोजी र मान्छेको अस्तित्वका विषय पाइने टिप्पणीकार अधिकारीको भनाई थियो । उनले कवि शुभलक्ष्मीको कविताहरु प्रस्तुतीका हिसाबले मध्यम स्तरको भएपनि विचारको हिसाबले निकै सशक्त भएको भन्दै निरन्तर लेखनले अझ परिस्कृत हुने बताए ।
डा. गणेश लामाको “जीवनका उकाली ओरालीहरु” कृति विमोचन गर्नुहुँदै साहित्यकार तुल्सी थापा, साथमा अध्यक्ष सुवास खनाल र अन्य अतिथिहरु ।
|
कार्यक्रममा साहित्यकार पुरुषोत्तम आचार्य, सन्तराम राई, माधव भण्डारी लगायतकाले रचना वाचन गरेका थिए । समारोहमा सहभागीहरुलाई कोषाध्यक्ष अनिता न्यौपानेले मन्तव्य मार्फत स्वागत गरिन् । कार्यक्रममा कृतिकार डा. गणेश लामा, मकवानपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख बिनबहादुर राउत, प्राध्यापक तथा साहित्यकार निमेश निखिल, उदय पौडेल, भीम तिमल्सिना लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो । साहित्य संगम मकवानपुरका अध्यक्ष सुवास खनालको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।